रौतहट । पछिल्लो समय रौतहटमा पर्यटकहरुको लागि नयाँ गन्तव्यस्थल बढ्दै गएका छन् । खासगरी ऐतिहासिक महत्व बोकेका क्षेत्रहरुलाई पर्यटकहरुको गन्तव्य बनाइएको छ ।
रौतहट । पछिल्लो समय रौतहटमा पर्यटकहरुको लागि नयाँ गन्तव्यस्थल बढ्दै गएका छन् । खासगरी ऐतिहासिक महत्व बोकेका क्षेत्रहरुलाई पर्यटकहरुको गन्तव्य बनाइएको छ ।
प्रचुर पर्यटकीय सम्भावना बोकेका शिवनगरको शिव मन्दिर, पौराईको ब्रह्मस्थान, नजरपुर कृष्ण मन्दिर, सन्तपुरको मरधर सिमसार क्षेत्र, गौरस्थित बरहवा सिमसार, शहीद स्मृति पार्क, तिलेश्वर पार्क, जङ्गे झरना, शिवनगर मन्दिर, दुर्गाभगवती मन्दिर, पौराइ बह्मस्थानलगायत दर्जनभन्दा बढी ऐतिहासिक महत्वका स्थलहरू रौतहटमै पर्दछ । यी विभिन्न गन्तव्यस्थलहरुको बारेमा संक्षेपमा यहाँ उल्लेख गरिएको छ ।
नुनथर क्षेत्र
पूर्व–पश्चिम महेन्द्र राजमार्गको बागमती खण्डबाट झण्डै २ किमि उत्तर हिँडेपछि रौतहट, मकवानपुर, सर्लाही र सिन्धुलीको सङ्गमस्थलको रुपमा परिचित पर्यटकीय क्षेत्र नुनथर आउँछ । बागमती नदीको किनार तथा चुरेको काखमा रहेको नुनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलको रुपमा विकसित हुँदैै गएको छ । यहाँ एकपटक आएपछि नदोहो¥याउने कमै होलान् । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने नुनुथर क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । पछिल्लो समय विवाह, वनभोज र घुम्नेहरुको रोजाइमा परेको यो क्षेत्र स्वच्छ सफा, सुन्दर प्राकृतिक एवं जैविक विविधतायुक्त तथा आफ्नै मौलिकताले भरिपूर्ण छ । सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यहाँको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्वले प्रख्यात छ । चुरेफेदको पानीको मूलहरुमध्ये नुन मिसिएको मिठासयुक्त पानी अन्यत्र पाइएको छैन । यहाँको पानी दुई वर्षसम्म खाएमा कुष्ठरोग, चर्मरोग निको हुने जनविश्वास रहेको नुनथर क्षेत्र विकास समितिका सचिव समिरबाबु कार्की बताउनुहुन्छ ।
सातौँ शताब्दीमा चिनियाँ यात्री हवेनसँग नुनथरमा बास बेसेको ताङ वृतान्तमा उल्लेख छ । विविधता एवं प्रकृतिको मनमोहक दृश्यावलोकन, मिठासयुक्त नुनिलो पानीको स्वाद चाख्न, वनभोजका र शिवको मन्दिर दर्शनका लागि भारतबाट समेत पर्यटकहरु आउने गरेको सचिव कार्कीले जानकारी दिनुभयो । छिमेकी सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरु यहाँ घुम्न आउँछन् । साउन र भदौ महिनामा यहाँ मेला लाग्छ । नुनथर क्षेत्र विकास समितिका अध्यक्ष एवं पूर्वसांसद रामकुमार भट्टराईका अनुसार यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न समितिले करिब एक करोड रुपैयाँ खर्चेर पिङ, चिल्ड्रेन पार्क, वनभोजस्थल, माछा मार्ने स्थान र डुङ्गा शयरको व्यवस्था गरेको छ ।
नुनथरमा झोलुङ्गे पुल निर्माण गरिएपछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाही जिल्लालाई समेत जोडेको छ । कतिपय मानिस तस्बिर खिच्न मात्र पनि पुलमा पुग्छन् । यस्तै नुनथरको पश्चिम उत्तरको कुनामा रहेको अग्लो रामचुवा डाँडाबाट सूर्योदय तथा सूर्यास्तको आकर्षक दृश्य देख्न सकिन्छ । उत्तरको मनोरम हिमशृङ्खला र दक्षिणको पवित्र भगिरथी गङ्गा बगिरहेको देख्न सकिन्छ ।
मरधर सिमसार क्षेत्र
साइबेरियादेखि पन्छी आउने मरधर सिमसार क्षेत्र पछिल्लो समय अतिक्रमणको चपेटा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट चार किमि दक्षिण चन्द्रपुर नगरपालिका–८ मा रहेको यो सिमासार क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । यहाँ विभिन्न प्रजातिका चराहरु देख्न पाइन्छ । तीस बिघा क्षेत्रमा फैलिएको सिमसारलाई व्यवस्थित गर्न गुरुयोजना बनाइएको भएता पनि भूमाफियाले आफ्नो नाममा गराएपछि सो क्षेत्र संरक्षण हुन सकेको छैन । सिमसारमा डुङ्गा शयर, मन्दिर, बालउद्यान, चिडियाघरलगायत पर्यटकका लागि आकर्षण भौतिक संरचना बनाउन विस्तृत अध्ययन प्रतिवेदन ( डिपिआर) तयार गरिएको भए पनि त्यसअनुसार काम भएको छैन । त्यो सिमसार क्षेत्रको भूभागलाई २०४६ सालमै भुमाफियाले आफनो नाममा गराइसकेको भए तापनि चन्द्रपुर नगरपालिकाले राज्यको नाममा ल्याउन लागिपरेको बताइएको छ ।
जङ्गे झरना
जङ्गे झरना रौतहटको चन्द्रपुर नगरपालिका–१ र २ अथवा रौतहट र मकवानपुर जिल्लाको सङ्गम क्षेत्रमा पर्दछ । चुरे क्षेत्रमा पर्ने उक्त झरनामा भारतबाट समेत पर्यटकहरु आउने गर्छन् । कुनै समय जङ्गबहादुर राणाले रमाइलो गर्न आउने ठाउँको रुपमा रहेको बुढापाकाहरुको भनाइ छ । त्यही कारणले गर्दा पनि यो झरनाको नाम जङ्गे झरना राखिएको बताइन्छ । त्यो झरना जानको लागि चन्द्रपुर नगरपालिकाको सहयोगमा बाटो निर्माण गरिएको छ । त्यस क्षेत्रमा मानिसहरु चिसोपानीमा नुहाउन र वनभोज खान आउने गर्दछन् । खासगरी गर्मी समयमा उक्त झरनामा मानिसहरुको भीड लाग्ने गरेको स्थानीय गोविन्द खरेलले बताउनुभयो ।
शहिद स्मृति पार्क
चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको शहीद पार्क आन्तरिक पर्यटकका लागि गन्तव्य बनेको छ । प्रायः हरेक शनिबार यो क्षेत्रमा निकै भीड लाग्छ । चादी खोला र जङ्गलको सङ्गमले चिनिने पार्कमा भारतको बैरगनियबाट समेत पर्यटकहरु घुम्न आउने गर्छन् । राजमार्गमै टाँसिएर बनेको सो पार्क नेपाल सरकारले २०६६ सालमा शान्ति मन्त्रालयको लगानीमा निर्माण गरिएको हो । त्यो पार्क वनटोल सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्दछ ।
नमुना मुसहर बस्ती
चन्द्रनिगाहपुरबाट सात किमी कालोपत्रे र एक किमि ग्राभेल छिचोलेर यो बस्ती पुगिन्छ । चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेको करिब पाँच वर्षअगाडि धुर्मुस–सुन्तली फाउन्डेशनले बनाइदिएको नमूना बस्ती हेर्न मानिसको ठूलो भीड लाग्छ । सन्तपुरका विपन्न परिवारको बास बनाइदिने लक्ष्यअनुसार फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती बनाएका हुन । एउटै रङ्गले सजिएका घरहरु निकै आकर्षक देखिन्छ । बस्तीमा बनाइएको भ्यूटावरबाट सन्तपुर वासपासका बस्ती र पहाडको दृश्य हेर्न सकिन्छ । दिनहुँ दुई सयको हाराहारीमा मानिस बस्ती हेर्न पुग्छन् । बस्तीभित्र विद्यालय, मन्दिर र खेल्ने सामानहरु राखिएको छ ।
डाबरी पार्क
चन्द्रनिगाहपुर नगरपालिका–६ स्थित रहेको डाबरी पार्क अर्को गन्तब्यको रुपमा परिचित छ । यो क्षेत्र पनि वनभोज र घुमघामको लागि प्रख्यात छ । चारैतिर जङ्गलको बीचमा रहेको पार्क हेर्न मानिसको भीड लाग्छ । यसलाई आन्तरिक पर्यटकको रुपमा विकास गर्नसके स्थतानीयको आम्दानी बढ्ने मधेश प्रदेशका पूर्वप्रदेश सांसद धनलाल ठोकर बताउनहुन्छ । सो पार्क क्षेत्रमा रहेको पोखरीमा बाह्रै महिना पानी र कोमलको फूल फुल्ने गर्दछ ।
पौराइ ब्रह्मस्थान
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराइमा रहेको पौराइ ब्रह्मस्थानको महत्व आफ्नै छ । यहाँ मधेश प्रदेशदेखि भारतका विभिन्न सहरबाट दर्शन गर्न आउने उक्त मन्दिरमा बाक्लो भीड लाग्ने गर्दछ । मन्दिरमा विभिन्न भाकल गर्ने भक्तजनहरु आफनो मनोकांक्षा पूरा भएपछि बोका बली दिने र परेवा उडाउने गरिन्छ । यहाँ दशैँ तथा विशेष तिथि पारेर भीड लाग्ने गर्ने गरेको स्थानीय देवीप्रसाद सापकोटाको भनाइ छ । यस क्षेत्रको आस्था र विश्वासको देवता भएकै कारण यस मन्दिरमा हरेक दिन नै भीड लाग्ने गरेको छ । पौराई ब्रह्मस्थान पनि जङ्गबहादुर राणासँग जोडिएको छ ।
तिलेश्वर महादेव क्षेत्र
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारको उत्तरी चुरेको फेदीमा रहेको तिलेश्वरनाथ क्षेत्र अहिले पर्यटकहरुको नयाँ गन्तव्य स्थान बनेको छ । तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा चादी खोलाको छेउमा रहेको यस पर्यटकीयस्थलमा अहिले वनभोज जाने र घुमफिर गर्नेहरुको सङ्ख्या बाक्लिन थालेको छ । यस वर्षदेखि करिब १२ हेक्टर जमिन ओगटेको सो पर्यटकीय क्षेत्रलाई व्यवस्थित पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको सहयोगमा करिब रु सात करोड लागतमा विभिन्न संरचना बनाइएको छ । भारत तथा नेपालका पर्यटकलाई आकर्षित गर्न पौडी पोखरी, झोलुङ्गे पुल, भ्यूटावर र होमस्टेको निर्माण गर्न लागिएको तिलेश्वर महादेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजु धामीले जानकारी दिनुभयो ।
गोल्मराजा बुद्ध विहार
रौतहटको अर्को पर्यटकीयस्थल हो गोल्मराजा बुद्ध विहार । चन्द्रपुर नगरपालिका–१ स्थित गैरीगाँउबाट करिब २० मिनेटको उकालो चढेपछि गोल्मा राजाको दरबार रहेको स्थानमा पुगिन्छ । एकजना बौद्ध भिक्षुले सो स्थानको परिचान गरेर गोल्मराजा बुद्ध बिहार निर्माणको अभियान थालेपछि सो स्थान परिचित बन्दै गएको हो । दरबार रहेको स्थानबाट स्थानीयले पुराना पैसा, जाँतो, तरबारलगायतका सामान फेला परेर राखेको चन्द्रपुर–१ का पूर्ववडाध्यक्ष बिरु रखालले बताउनुभयो । गोल्मा राजाको दरबार उत्खनन गरेर सो स्थानको विषयमा पुरातत्व विभागलाई जानकारी गराउने त्यो दरबार कति पुरानो हो भन्ने विषयमा खोजबिन गर्नुपर्ने उहाँको भनाइ छ ।
दरबार रहेको तल्लो भाग टुँडिखेलमा अहिले गोल्मराजा बुद्ध विहार निर्माणको काम अगाडि बढेको छ । थाइल्याण्डका राजाको सहयोगमा सो स्थानमा दुई करोड रुपैयाँ लागतमा बनेको साढे नौ फिटको बुद्ध मूर्ति स्थापना गरेपछि अहिले त्यस स्थानमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । बौद्धभिक्षु मेधमकरस्थवीर भन्तेको सक्रियतामा सो स्थानमा बौद्ध ध्यान केन्द्रसमेत निर्माणको काम थालनी भएको स्थानीय बासिन्दा गोपाल घिमिरेले जानकारी दिनुभएको छ । त्यस स्थानबाट रौतहट र सर्लाहीको हराभरा फाँट देख्न सकिन्छ । बौद्धभिक्षु स्थवीर भन्तेले सो स्थानमा बाइसी–चौबिसी राज्य रहेको तत्कालीन समयमा गोल्मा नामका सेन वंशीय राजाको दरबार रहेको बताउँदै सो स्थानलाई धार्मिक पर्यटकीयस्थल बनाउन आफू लागिपरेको बताउनुभयो । दरबार रहेको स्थानमा पुराना इँटा, काटिएका ढुङ्गा यत्रतत्र छरिएर रहेका छन् । सो स्थानलाई जीर्णोद्धार गरेर पर्यटकीयस्थल बनाउन लागिएको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले बताउनुहुन्छ ।
शिवनगर मन्दिर
रौतहटको गरुडा–५ मा रहेको शिवनगरमा रहेको शिव मन्दिरको आफ्नै इतिहास छ । यस मन्दिरमा साउन र भदौ महिनामा भारतबाट भक्तजन पूजा गर्न आउँछन् । शिवनगरको शिव मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गइरहेको छ । यसैगरी रौतहटको मौलापुरमा रहेको पुरातात्विक पतौरा महादेव मन्दिर, दुर्गा भगबती गाउँपालिकामा रहेको दुर्गा भगवतीको मन्दिर लगायतका स्थान पर्यटकहरुको रोजाइमा पर्ने गरेका छन् । तिमल्सिना/ रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं
- धरौटी बुझाएर लामिछानेसहित छ प्रतिवादी हिरासत मुक्त
- छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश
- रवि लामिछानेलाई छोड्न अदालतको आदेश
- फैसला सुन्न रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा
- अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
- वायु सेवा निगमको समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
- सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो
- लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पक्राउ
- मध्यपहाडी लोकमार्ग : कास्की–बागलुङखण्ड १९३ किलोमिटर कालोपत्र