+

सामूहिक खेतीगरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला

सिरहा । लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ ।


खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताउनुभयो । ‘लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ’ उहाँले भन्नुभयो । 

उहाँ मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् ।  ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।’

अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताउनुभयो । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ । अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट  डेढ लाख रुपैयाँ आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी  ७५ हजार रुपैयाँ खुद नाफा भएको नन्दीलालले बताउनुभयो । आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । 

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ । किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताउनुभयो । उहाँले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताउनुभयो । 

वडा नम्बर १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट