+

म्याग्दीमा १३९ झोलुङ्गे पुल निर्माण

म्याग्दी ।  म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १ सय ३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् ।


मिलन म्याग्दीको बेनीमा सम्पन्न २६ औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन झोलुङ्गे पुल निर्माण गरिएको हो ।

जिल्लाको दुर्गम मानिएको धवलागिरी गाउँपालिकादेखि लिएर रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि छोटिएको उहाँले बताउनुभयो ।

‘झोलुङ्गे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौंदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ’ उहाँले भन्नुभयो । यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि–७ धारापानी र मालिका गाउँपालिका–७ खारा जोड्ने पुल निर्माण भएपछि २ सय ७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि विभिन्न बस्तीका बासिन्दालाई सहजै पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उहाँको भनाइ छ । चालु आर्र्थिक वर्षमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिकामा दुई, मङ्गला गाउँपालिकामा एक, रघुगङ्गा गाउँपालिकामा एक र धवलागिरी गाउँपालिकामा एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका उहाँले जानकारी दिनुभयो ।

पुल निर्माण भएपछि स्थानीयको यात्रा छोटिएको र कृषिसहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामान ढुवानीमा सहजता भएको बिटालुको भनाइ छ । अहिलेसम्म सरकारले गण्डकी प्रदेशमा २ हजार २ सय ६४ झोलुङ्गे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । 

विभागका महानिर्देशक भरतप्रसाद अर्यालका अनुसार १२० मिटरभन्दा लामा झोलुङ्गे पुल सङ्घीय सरकारले र त्यो भन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले सरकारले धेरै सङ्ख्यामा पुल निर्माण गर्न सकेको हो । 

झोलुङ्गे पुल निर्माणका लागि लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माणमा थप सहजता भएको महानिर्देशक अर्यालको भनाइ छ ।

पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दूरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ । सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा तर्नलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको हो । 

‘पहिला झोलुङ्गे पुल नदी तर्नका लागि मात्र हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘अहिले नदी तर्नाका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिकोणले पनि झोलुङ्गे पुल निर्माणको माग हुँदै आएको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै