![](/storage/news/01JKD4TBXTBK5JGN9S2NDQ1BMS.jpg)
दाङ । दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण आकर्षक पर्यटकीय स्थल बन्न सफल भएको छ । अहिले यो झरनाको अवलोकन गर्न टाढाटाढाबाट दैनिक सयौँ मानिस पुग्न थालेका छन् ।
पैँतालीस फिट उचाइको यो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । त्यही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने गरेको स्थानीयको भनाइ छ ।
तीन तिरबाट जङ्गलले घेरिएको यो ठाउँको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी छ । बबई नदी किनाराबाट करिब १० मिटर टाढा पूर्वतर्फ पुरन्धरा झरना आकाशबाट खसेजस्तै देखिन्छ । झरनाबाट एकतमासले बर्सिने पानी पोखरीजस्तै आकारमा तल जम्मा हुन्छ । त्यहाँबाट यो पानी बिस्तारै बबई नदीमा गई मिसिने गर्दछ ।
झरनाको अवलोकन गर्न पुग्ने कतिपय त्यही पानी खस्ने ठाउँमा सेल्फी खिच्न व्यस्त देखिन्छन् भने गर्मीको समयमा अवलोकन सहित पौडी खेलेर मज्जा लिनेहरुको पनि भीड लाग्ने गर्दछ ।
यतिबेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि आउने गरेका झरना व्यवस्थापन समितिमा कार्यरत कर्मचारी कुलबहादुर बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार अहिले दैनिक तीनदेखि चारसय आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान यहाँ आइपुग्छन् ।
विदाको दिनमा झरनाको अबलोकन गर्न आउनेको संख्या अझ बढी हुने गर्दछ । बुढाका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलको ३० रुपैयाँ, कार तथा जिपको २ सय र बसको २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको छ । झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब दिन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने श्री बुढाले जानकारी दिनुभयो ।
झरनाको अवलोकन गर्नका लागि कोहलपुरबाट पहिलो पटक पुग्नु भएकी ४५ वर्षीया कालिका रेग्मीले यहाँ आउँदा निकै आनन्द आएको प्रतिक्रिया दिनुभयो । ‘यो ठाउँ साँच्चिकै सुन्दर रहेछ । यहाँ केही भौतिक पूर्वाधार निर्माण गरी यसलाई पार्कको स्वरुप दिएर वरपरको वातावरण सफा राख्न सकिए अझ बढी पर्यटक आइपुग्ने देखियो’ उहाले भन्नुभयो ।
दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी ५७ वर्षीय ज्ञानी अधिकारीले दश वर्षअघि पञ्चकुलेबाट ६ घण्टा पैदल हिँडेर यो झरना हेर्न आएको विगत सम्झनुभयो । गत सोमबार गाडी चढेर झरना अवलोकन गरी घर फर्कदा आफूलाई त्यो पुरानो याद पुनः ताजा भएर आएको बताउनुभयो । उहाँले पर्यटकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधारको आवश्यकता देखिएको सुनाउनुभयो ।
तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिण पचिश्ममा पर्ने त्यो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महिना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्नेछन् ।
झरनाबाट करिब एकसय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर पनि छ । योे मन्दिरमा महाशिवरात्रिमा ठूलो मेला लाग्दछ । झरना अवलोकनका लागि त्यहाँ पुग्नु भएका ज्येष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले झरनाको वरिपरिको विकासमा ध्यान दिन स्थानीय तथा लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले त्यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरना र त्यस वरिपरि पूर्वाधार विकासका लागि आफूले गुरुयोजना बनाई कामलाई प्राथमिकतामा राखेको र यस झरनालाई जिल्लाकै एउटा प्रमुख पर्यटकीय स्थल बनाउनका लागि प्रयत्न गरिरहेको बताउनुभयो ।
‘विगतका वर्षमा बाटो नहुँदा झरना क्षेत्रको अवलोकन वर्षायाममा गर्न सकिँदैन थियो । अहिले झरनासम्म पुग्ने बाटो ग्राभेल गरिएकाले वर्षैभरि मोटरबाट त्यहाँ पुग्न सकिने अवस्था छ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी