+

प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा आर्मी र भारतको नोइडा विजयी

वीरगञ्ज  ।  पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा आज नेपाल आर्मी क्लब र  भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ । 

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई आठ बिकेटले स्तब्ध पार्दै भारतको नोइडा क्लबले पहिलो जित निकाल्दा आर्मीले भारतको उत्तर प्रदेश क्लब (युपी ११) लाई ६५ रनले पराजित गरी आफ्नो अपराजित यात्रा कायम राखेको छ । 

पहिलो खेलमा टस जितेर भारतीय नोईडा क्लबले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रनको योगफल जोडेको थियो । 

एपिएफका कप्तान प्रदीप ऐरीले २४ रन, सन्दीप झोराले २० रन, आसिफ शेख र लोकेश बमले समान १९/१९ रन तथा अमर रौटेलाले १७ रनको योगदान दिए । भारतीय क्लब नोइडाका अलिप्त गुप्ताले २ तथा हर्षित सेठी, सञ्जीव चतुर्वेदी र रितिक भाटले समान १/१ बिकेट हात पारे । एक सय ४५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको भारतीय क्लब नोइडाले १६ दशमलव २ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 

नोइडाका हर्षित सेठीले अविजित ४५ रन, सिद्धार्थ गोस्वामीले अविजित ४३ रन, रितिक भाटले ४६ रन तथा रितिक अरोराले १२ रनको योगदान दिए  ।

एपिएफका कमल खत्री र बिपी खत्रीले समान १/१ बिकेट लिनुभयो । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ नोइडाका रितिक भाट घोषित भएको छ । यस्तै आज दिउँसो भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले १९ दशमलव ५ ओभरमा सबै बिकेट गुमाएर एक सय ३२ रनको योगफल जोडेको थियो । आर्मीका सन्तोष कार्कीले ४४ रन, भीम सार्कीले २३ रन, सहाब आलमले २२ रन र बसिर अहमदले १४ रनको योगदान दिए । 

युपी ११ का वसि अन्सारीले ३, सहिम हसन र सहनसा अहमदले समान २/२ तथा भीम शर्मा र तरुण कुमारले समान १/१ विकेट लिए । एक सय ३३ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको युपी ११ ले १४ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । युपी ११ का अल्तमस आलमले १६ रन, तरुण कुमारले १२ रन तथा सुभम चौधरी र जयदीप सिंहले समान ११/११ रनको योगदान दिनुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सक्नुभएन । 

युपी ११ लाई सस्तैमा समेट्न आर्मीका सहाब आलम र पवन कार्कीले समान ३/३ तथा सोमपाल कामी र बसिर अहमदले समान २/२ विकेट हात पारे । सो प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका सहाब आलम घोषित भएको आयोजकले जनाएको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै