
म्याग्दी । मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान बनाउन श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेल मैदानलाई स्तरोन्नति गरी प्रयोगयोग्य बनाउन श्रमदान अभियान सञ्चालन गरिएको हो ।
जनप्रतिनिधि, स्थानीय, खेलाडी र विद्यार्थीले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मंगला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभएको छ । ‘४ वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा आउन सकेको थिएन्’ उहाँले भन्नुभयो, ‘ पुस १५ गतेदेखि सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता यही खेलमैदानमा सञ्चालन गर्ने योजनाअनुसार श्रमदान अभियान चलाइएको हो ।’
पुस १ गतेदेखि शुरु भएको श्रमदान अभियान पुस १२ गतेसम्म चल्नेछ । गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गरेको छ । खेलमैदानमा रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न श्रमदान अभियान चलाइएको हो ।
ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाउन लागिएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका संयोजकसमेत रहेका मङ्गला–१ का वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।
युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जना स्थानीय श्रमदान अभियानमा सहभागी भएका छन् । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका छन् ।
खेलमैदान स्तरोन्नति र व्यवस्थित गर्न समुदाय तहबाट भएको सहभागिताले उत्साहित बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेलले बताउनुभयो । सात दिनको अवधिमा खेलमैदानले स्वरुप लिएको छ ।
गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत १५ लाख रुपैयाँ छुट्याएको थियो । बिनियोजित रकमबाट २०७६ सालमा १ सय २० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा १ सय २० मिटर लामो ग्याबिन पर्खाल निर्माण गरिएको स्थानीय युवा श्यामसुन्दर कँडेलले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायक पर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ । व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।
गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताउनुभयो । कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने