
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ ।
विसं २०७७ मा पनौती–११ ख्याकुकी सावित्री थापाले अनुदानमा प्राप्त गरेको पाडी अहिले लैनौ भैँसी छ । त्यतिबेला भैँसी ब्याउँदा नगरपालिकाले उहाँलाई रु पाँच हजार सुत्केरी भत्ता पनि उपलब्ध गराएको थियो ।
“त्यतिबेला अनुदानमा पाएको पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा रु दुई लाखको दूध बेचेँ”, थापाले भन्नुभयो ।
ख्याकुकै माधव थापाको परिवारमा पनि लैनो भैँसीले खुसी थपेको छ । पनौती नगरपालिकाबाट उहाँले पनि अनुदानमा पाडी प्राप्त गर्नुभएको थियो । उक्त पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा रु एक लाख ८० हजारको दूध बिक्री गरेको थापाले बताउनुभयो ।
यस्तै पनौती–११ कै शोभा थापाले नगरपालिकाबाट केही वर्ष अघि अनुदानमै प्राप्त गरेको पाडी हाल लैनो भैँसी बनेपछि दूध बिक्रीबाट घर खर्च चलाउँदै आउनुभएको छ । “दैनिक पाँच लिटर दूध बिक्री गर्ने गरेकी छु”, उहाँले भन्नुभयो ।
पनौती नगरपालिको तीन वर्षको अवधिमा किसानलाई नौ सय १९ पाडी वितरण गरेको कृषि तथा पशुपन्छी शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले भत्तासँगै खोप र औषधी निःशुल्क वितरण गर्ने गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि भैँसी संरक्षण–सम्वद्र्धन अभियानअन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको हो ।
“दूध उत्पादन र भैँसीपालनको अवस्थाबारे अध्ययन गरेपछि भैँसी संरक्षण अभियानअन्तर्गत भैँसी सुत्केरी भत्ता वितरण गर्न थालेका हौँ”, शाखा प्रमुख सापकोटाले भन्नुभयो । पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यस पछि रु दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्यरुपमा पशु बीमा गर्नुपर्ने प्रावधान थियो । नगरपालिकाले भैँसीलाई खोप तथा घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
शाखा प्रमुख सापकोटाका अनुसार पनौती नगरपालिकामा करिब आठ हजार भैँसी रहेका छन् । हाल दैनिक करिब ७५ हजार लिटर दूध उत्पादन भइरहेको छ । यसमध्ये ५० हजार लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने