काठमाडौँ । विसं २०३० साल चैत १९ गते रौतहटमा जन्मनुभएकी सांसद बिना देवी नेकपा (एमाले)बाट समानुपातिकतर्फबाट सांसद हुनुुहुन्छ । २०४६ सालबाट एमालेमा आवद्ध भएर राजनीतिक यात्रा शुरु गर्नुभएकी उहाँले पार्टीको वडा, जिल्ला कमिटी सदस्य हुँदै अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष भएर काम गर्नुभयो । अहिले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट समानुपातिक सदस्य भएर काम गरिरहनुभएको छ । बिना देवीसँग राससका कालिका खड्काले गर्नुभएको कुराकानीमा आधारित
उहाँ भन्नुहुन्छ– राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुशी लागेको छ । आफूलाई सांसद बनाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र आफूले प्रतिनिधित्व गरेको ठाउँ रौतहटमा केही राम्रो काम गरेर देखाउने तीव्र इच्छा छ । तर सांसद भएको डेढ वर्ष बितिसक्यो, कानुन बनाउनेतर्फ खासै काम गर्न सकिएको छैन । बनाउनुपर्ने कानुन धेरै छन् । संविधान अनुकूलका कानुन पनि बनाउन धेरै बाँकी छ । कानुनको अभावमा धेरै काम प्रभावकारी तरिकाले हुनसकेका छैनन् ।
संसदमा विधेयक सरकारले ल्याउने हो । सरकारले कानुन बनाउने कुरामा बढी ध्यान दिनुपर्ने हो । विगतमा एमाले प्रतिपक्षमा रहेका कारण पनि धेरै कानुन बनाउने कुरामा निर्णायक भूमिका थिएन । अब पार्टी सरकारमा गएको छ । अब संविधानअनुकूलका बनाउनुपर्ने कानुन छिट्टै बन्छन् भन्ने मलाई विश्वास छ । तराईमा अहिले पनि दाइजोका कारण महिलाको हत्या भइरहेको छ, प्रताडित भइरहेका छन् । विभिन्न कुसंस्कार र कुरीति छन् । त्यो पनि कानुनले नै नियन्त्रण गर्नुपर्छ । मिटरब्याज पीडितका समस्या छन् । उखु किसानले उखुको भुक्तानी नपाएर दुःख पाइरहेका छन् । सिँचाइको अभावमा किसानले राम्रोसँग खेतीबाली लगाउन सकेका छैनन् । यस्ता अनेक समस्याबाट रौतहटसहित तराईका जिल्लाहरू ग्रसित छन् ।
विगतमा तराई¬–मधेसमा महिलालाई राजनीतिमा सहभागी र सक्रिय हुन निकै कठिन थियो । अहिले केही सहज भएको छ । केही प्रगति मधेसमा महिलाको पनि भएको छ । बुझेको मान्छेलाई बुझाउन निकै गाह्रो रहेछ । बरु केही नबुझेको मान्छेलाई बुझाउन सकिन्छ । मधेसमा महिलालाई सशक्तीकरण गर्नैपर्ने जरुरी छ । केही ठाउँमा, केही समुदायमा धार्मिक, सांस्कृतिक रुढीवादी परम्परा पनि हाबी छ । यद्यपि छोरीलाई पढाउन, बुहारीलाई काममा पठाउनेतर्फ केही सुधार आएको छ । तर सोचेअनुरुप सुधार आउन सकेको छैन । त्यसका लागि बुझाउने र सचेतना जगाउने काम गरिरहेकी छु ।
सांसद भनेको जनताको प्रतिनिधि हो । जनप्रतिनिधिमाथि संसद्मा राष्ट्रिय विषयमा छलफल गर्ने र आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यमा सहभागिता जनाउने दुवै दायित्व हुन्छ । जनताको अपेक्षा पनि यही हुन्छ । स–साना विकासका कार्यहरू र बजेट व्यवस्था खासमा स्थानीय सरकारले गर्नुपर्ने हो, तर हामीले पनि हेर्नुपर्छ । मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य र खानेपानीको निकै ठूलो समस्या छ । मलाई धेरै हिसाबले रौतहट जिल्ला पछि परेको जस्तो लाग्छ । शिक्षामा धेरै पछाडि छ । स्वास्थ्यमा पनि उपचार गर्नका लागि एउटा ठूलो अस्पताल छैन । एउटा राम्रो अस्पताल भएमा केही राहत हुने थियो । पहल गरिरहेकी छु । स्वच्छ खानेपानी नहुँदा धरै मानिस रोगको सिकार भएका छन् । त्यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने हो । मेरो जिल्ला रौतहटमा शिक्षा, स्वास्थ्य र खानेपानीकै विषयमा के गर्न सकिन्छ भन्ने सोचिरहेको छु ।
पार्टीले मलाई सांसद बनाएपछि जनताले के गर्छ भनेर हेरिरहेका छन् । हामीले भोट माग्दा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउँछौँ भनेर वचन दिएको थिएँ । जनतासँग गरेको वाचा पूरा गर्न सकिएको छैन । धेरै काम गर्न बाँकी छ । अहिले त जनतामा जान पनि अप्ठ्यारो लाग्छ । जनतालाई यो–यो काम गर्छु भनेर दिएको वचन पूरा गर्न सकेको छैन । तर म प्रयासरत छु । सांसद हुँदा र नहुँदा सधैँ जनताकै साथमा हुनेछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते