
महोत्तरी । चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ ।
जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।
यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल २० रुपैया वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन् ।
यसपालि उखुको मूल्य पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । गत वर्ष यो मूल्य पाँच सय ६५ रुपैयाँ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल ७० अनुदानवापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ ।
गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ । ‘मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको सात दिन नकट्दै हाम्रै खातामा रकम आइसक्छ? भङ्गाहा–४ का किसान अरूण गिरी भन्नुहुन्छ– ‘पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखुखेतीमा जाँगर जोडेको छ ।’ त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रूँदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन् ।
उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छभने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ । ‘पुस १० गतेसम्म तौल भएको उखुको भुक्तानी भइसकेको छ, अब हामी पुस १५ सम्म भएको तौलको भुक्तानी तयारी गर्दैछौँ’ उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्नुहुन्छ– ‘सामान्यतः तौल भएको पाँच–पाँच दिनमा भुक्तानी गर्ने नीति बनाइएको छ ।’ चौथोपटकको भुक्तानी भोलिसम्म गरिने उहाँको भनाइ छ । उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा २५ करोड ६ लाख १३ हजार९ सय ८६ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आफूहरुको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् । ‘हामीले गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धिको माग गरेका थियौँ, तर सरकारले प्रतिक्विन्टल २० रुपैयाँ थपेर झारा टारेको छ’ उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा भन्नुहुन्छ– ‘यसमा सरकारले पुनर्विचार गर्नुपर्छ ।’
आर्थिक वर्ष २०८१ र ८२ मा एभरेष्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो । यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । दुई दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर तीन वर्षअघि पाँच हजार बिघामा झरेको थियो । उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन् ।
यसपालि नौ हजार बिघामा उखुखेती गरिएको छ । आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध