
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ ।
“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।
जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउनुहुन्छ । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताउनुभयो ।
“फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताउनुभयो । “बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो ।
घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हँुदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’