
पर्वत । ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ ।
यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निःशुल्क विषादी वितरण गरिएको हो । धान रोपको महिना दिनपछि धानका जरा कुहिने (फुट रुट) र पात पहेँलिने (सेट ब्लाइट) को प्रकोप फैलिएपछि किसानहरु पीडित बनेका थिए ।
गाँज राख्ने बेलाका धानबालीमा प्रकोप फैलिएर खेत नै खाली हुन थालेपछि नमूना सङ्कलन गरी क्षेत्रीय बाली विज्ञान प्रयोगशालामा पठाइएकामा जरा कुहिने र डढुवा रोग लागेको पुष्टि भएको थियो । यो ढुसीजन्य रोगका कारण फैलिएको प्रकोप भएको पुष्टि भएपछि किसानलाई तत्काल नियन्त्रणका लागि आवश्यक मात्रामा औषधि वितरण गरिएको फलेवास नगरपालिकाका कृषि शाखाका प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ।
फलेवासको कृषि शाखा, कृषि ज्ञान केन्द्रबाट र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइबाट पर्याप्त मात्रामा औषधि र औषधि छर्नका लागि आवश्यक यन्त्र उपकरण तथा तालिम प्रदान गरिएको हो । किसानलाई तत्कालका लागि बेभिष्टिन, भेलिडामाइसिन, बम्पर बोनस जस्ता विषादी वितरण गरिएको थियो ।
प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा जिल्लाका सबै किसानलाई विषादी सिफारिस गरिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत सोविता सुवेदीले जानकारी दिनुभयो । विषादीको प्रयोगसँगै कृषकलाई विषादी हालेपछि अपनाउनुपर्ने अन्य उपायका बारेमा समेत अभिमूखीकरण गरिएको छ ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरीकन लगाइएका कारण धानबालीमा ढुसी रोग फैलिएको बताउनुभयो । धानले गाँज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नका लागि विषादी वितरण गरिएको छ ।
अब किसानले विषादीसँगै बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, साँझ ४ बजेपछि विषादी छर्किनुपर्ने, पानीको निकास दिनुपर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने सुझाव दिएको बताउनुभयो ।
फलेवास वडा नम्बर ९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठो बुढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको स्थानीय किसान लोकप्रसाद काफ्लेले बताउनुभयो । ठूलो लगानी गरेर धानखेती गरे पनि समयमै रोग लागेर नष्ट गरिदिएको उहाँको गुनासो रहेको छ । विषादी प्रयोग गरेपछि रोगकीराको प्रकोप न्यूनीकरण हुँदै गएको उहाँको भनाइ छ ।
रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धानलगायत ठाउँमा ढुसीको प्रकोप बढी देखिएको थियो । जिल्लाको करिब १ हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा प्रकोपको समस्या देखिएको थियो ।
सबै ठाउँमा पर्याप्त विषादी वितरण गरिएकाले अब थप क्षति हुन जोगिनाका साथै धानबालीसमेत सप्रिँदै जाने अपेक्षा गरिएको नगर कृषि सञ्जाल फलेवासका संयोजक विनोद भुसालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने