+

ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन

बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो । ७० बर्षका सोनामलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ विगत एक दशकदेखी भने आयोडिनयुक्त धुलो नुन खाइरहनुभएको छ ।

विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा नियमित  ग्राहक थिए । । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह) मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।”

उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । “नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पु¥याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,” उहाँ भन्नुहुन्छ । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । “बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो ।”

वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उहाँले बताउनुभयो । “आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी  ढिके नुन खाँएर हुर्कियो , केही भएन ।”

खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । “गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै ।”

गाउँमा २०६४-६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उहाँले सुनाउनुभयो । “सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो । त्यो अहिले पनि सम्झना छ ।” त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उहाँले बताउनुभयो ।

वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उहाँले बताउनुभयो । “सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ । आजभोलि त घर घरै साल्ट्र टे«डिङको नुन पुगिसक्यो,” उहाँले भन्नुभयो ।

जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ । सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र टे«डिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै ठाउँमा पर्याप्त नुन छ । साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ । धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ । अब एक–दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ ।” अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ । यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै