ललितपुर । आपत्कालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज यहाँ बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गर्नुभएको हो ।
मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपत्कालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रा सबै धर्मको मर्म मानवीय सेवा नै भएकाले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा सम्मानका साथ प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ उहाँले भन्नुभयो– ‘सबै संस्थाले एकीकृत ढंगले क्रियाशील भएर बिरामीलाई निःशुल्क रगत दिने व्यवस्थाअनुसार क्रियाशील हुन ध्यानाकर्षण गराउन चाहन्छु ।’
उहाँले सरकारी सेवालाई ‘डिजिटलाइज’ गर्ने क्रममा नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो । विज्ञान र प्रविधिको युगमा ‘टेलिमेडिसिन’को माध्यमबाट उपचार गर्ने प्रविधिको विकास र विस्तार गरी जनतालाई राम्रो र प्रभावकारी सेवा दिन सरकार प्रयासरत रहेको मन्त्री महर्जनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताउनुभयो । उहाँले आफूहरूसँग तीन सय सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदातालाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयरको समन्वयमा ललितपुरको पाटन अस्पताल र बज्रवाराही प्रदेश अस्पताललाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष महर्जनले जानकारी गराउनुभयो । ‘ब्लड फर मी’ एप्लिकेसनका निर्माणकर्ता साजन महर्जनले रगतको आवश्यकता परेको समयमा खोजीका लागि भोग्नुपर्ने कठिनाइ तथा समस्या समाधान गर्दै स्वस्थ रगत सजिलै उपलब्ध हुने अवस्था सृजना गर्न प्रविधिको विकास गरेको बताउनुभयो ।
ब्लोदान काठमाडौँका अध्यक्ष तिलकबहादुर अधिकारी, जिल्ला शाखा ललितपुरका संस्थापक अध्यक्ष राजेन्द्र महर्जन, उपाध्यक्ष मदन श्रेष्ठले वर्तमान समयमा रक्तदानको महत्व, रक्तदानमा विभिन्न सङ्घसंस्थाको सहभागिताको आवश्यकता र औचित्यताको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता ब्लोदानका केन्द्रीय सदस्य साधुराम महर्जनलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ओली सरकार फेल भइसक्यो, अब चल्दैन : प्रचण्ड
- मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
- कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित
- दुम्कीबास नजिकै विनयी खोलामा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
- कानुन मन्त्री र मुख्य सचिवसहित प्रधानमन्त्री ओली शीतल निवासमा
- दाहाल, नेपाल र लिङ्देनबीच भेटवार्ता, संसद् अधिवेशन बोलाउन माग
- विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
- ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
- विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अनुरोध
- ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान शुरु हुने’