+

पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो

झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटक बढेको छ । काँकडभिट्टा अध्यागमनका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार १ सय १ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् ।


सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक त्यो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन २ हजार ९ सय ७६ जनाले बढोत्तरी भएको छ । 

कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् । सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्याङ्की नाका पर्यटकका लागि खुला गरेको थियो । पानीट्याङ्की नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठ बताउनुहुन्छ । 

‘कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो’ उहाँ भन्नुहुन्छ– ‘उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दिएको हो । त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानै लयमा फर्किएको हो ।’

पूर्वीनाकाबाट केही वर्षअघि सम्म नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या बढी थियो । सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार ९ सय १६ भूटानी पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालयका सूचना अधिकारी राजवंशीले बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भूटानीको सङ्ख्या २ हजार ९ सय ३१ मात्र थियो । 

नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने गरेको छ । शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भूटानीहरु बढी सङ्ख्यामा नेपाल आउने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै