+

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामा

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामाको घोषणा गर्नुभएको छ । सत्तारुढ लिबरल पार्टीका नेतासमेत रहनुभएका ट्रुडोले आम निर्वाचनको केही महिनाअघि राजीनामाको घोषणा गर्नुभएको हो ।


लिबरल पार्टीको नयाँ नेता चयन नहुँदासम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नुहुनेछ । सोमबार ओटावामा आयोजित पत्रकार सम्मेलनमा ५३ वर्षीय ट्रुडोले पार्टीले नयाँ नेता चयन गरेपछि पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा राजीनामा गर्ने बताउनुभयो । दलको नेताबाट बाहिरिएसँगै प्रधानमन्त्रीका रूपमा ट्रुडोको ९ वर्षे शासन अन्त्य हुनेछ ।


राजीनामाको घोषणा गर्ने क्रममा ट्रुडोले आफूलाई एक योद्धाको संज्ञा पनि दिनुभयो । महामारीका बेला सेवा गरेको र बलियो लोकतन्त्रका लागि लडेको उहाँको भनाइ थियो । क्यानाडाको चुनाव प्रक्रियालाई सुधार गर्न असफल भएकोमा भने उहाँले पश्चताप व्यक्त गर्नुभयो । गत महिना क्यानाडेली सामानहरूमा अमेरिकी शुल्क लगाउने डोनाल्ड ट्रम्पको धम्कीलाई कसरी व्यवहार गर्ने जस्ता नीतिगत असहमतिहरूलाई उद्धृत गर्दै अर्थमन्त्रीले राजीनामा दिएका थिए ।

पछिल्लो समय ट्रूडोको लोकप्रियता पनि मतदाताहरूमाझ खस्केको छ । उहाँको दल यसै वर्ष हुने आमनिर्वाचनमा पराजयको बाटोमा रहेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रुडोले अप्रत्याशित रूपमा सन् २०१५ मा आफ्नो पार्टीलाई सत्तामा पुर्‍याउनुभएको थियो । तर उहाँको पहिलो कार्यकाल विभिन्न घोटालाहरूका कारण विवादित बनेको थियो ।

पछिल्लो समय क्यानडामा बढ्दो महँगी र शासनशैलीका कारण ट्रुडोको लोकप्रियता घट्न थालेको थियो । जसका कारण आफ्नै दलका एक दर्जनभन्दा बढी सांसदहरूले समेत ट्रुडोलाई राजीनामा दिन दबाब दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै