
बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।
सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो ।
“यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उहाँले भन्नुभयो ।
बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन ।
तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ ।
गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।
पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा