+

अफगानिस्तान भूकम्पबाट जीवन गुमाउने ८१२ पुग्यो, अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान

काठमाडौँ । अफगानिस्तानमा गए रातिको शक्तिशाली भूकम्पका कारण जीवन गुमाउने ८ सय १२ पुगेको छ । अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नाग्गारहारमा आइतबार राति ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।


भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ परकम्प दर्ज गरिएको छ । तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् ।

समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, ‘हामीलाई सहयोग आवश्यक छ, किनकि यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए ।’ तर अहिलेसम्म कुनै पनि देश र विदेशी संस्थाले उद्धार वा राहतका लागि सहयोगको प्रस्ताव नगरेका अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । मन्त्रालयका अनुसार ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित भएका छन् । ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार उद्धारकर्मीहरू पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा पुग्न संघर्ष गरिरहेका छन्, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ । ग्रामिण क्षेत्रमा भूकम्पका कारण माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएकाले जनधनको ठूलो क्षति भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा जनसंख्याको आधाभन्दा बढी हिस्सालाई तत्काल मानवीय सहायताको खाँचो छ ।

भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजान लगायतका देशले अफगानिस्तानमा भूकम्पका कारण भएको क्षति प्रति दुस्ख व्यक्त गरेका छन् । जसमध्ये चीनले भने अफगानिस्तानको आवश्यकताअनुसार र आफ्नो क्षमताभित्र राहत सहयोग गर्न तयार रहेको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न तयारी गरिरहेको उल्लेख गरेका छन् ।

स्थानीयवासी र मानवअधिकारकर्मीका अनुसार दुई वर्षअघि पश्चिमी हेरात शहरमा गएको शक्तिशाली भूकम्पपछि धेरै गाउँ अझैसम्म पनि अस्थायी आवासमा बस्दै आएका थिए ।
अफगानिस्तान हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने भएकाले विनाशकारी भूकम्पको जोखिममा रहँदै आएको छ, जहाँ भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरू जोडिन्छन् ।

गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा आएको यति ठूलो भूकम्पले देशलाई पुनस् संकटमा पारेको छ । मानवीय संकटसँग लडिरहेको दक्षिण एशियाली मुलुक अफगानिस्तानले वाह्य सहायता समेत तीव्ररूपमा कटौतीको सामना गरिरहेको छ ।

तालिबानको महिलाप्रतिको नीति प्रति बिमति राख्दै विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग कटौती गरेका छन् । पछिल्लो पटक सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला पनि करिब एक हजार मानिसको मृत्यु भएको थियो ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै