+

पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

म्याग्दी । धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ । 


हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा  मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका–३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । 

उहाँकाअनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिनुभयो । 

मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीका थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगिता समेत हुने गरेको जानकारहरू बताउँछन् । यो मुनाका कृषकहरुको गाईभैँसी र भेँडाबाख्रा चरिचरन गराउने महत्वपूर्ण क्षेत्र पनि हो । 

धवलागिरीको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेन्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ । पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ । 

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवद्र्धन कार्यक्रम समेत गरिएको थियो । 

यसबाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाटर २० लाख र गाउँपालिकाबाट  १५ लाख  रुपैयाँ  विनियोजन गरिएको छ । यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले बताउनुभयो । 

यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै