
महोत्तरी । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो ।
मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो । बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।
बोयर जातका उन्नत बीउ बोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आफूहरूको अम्दानी बढ्ने महिला किसान बताउँछन् । “अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउने छन्, यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ”, बीउ बोका पाएपछि मटिहानी–१ की बाख्रापालक महिला किसान हीरा सहनी भन्नुहुन्छ, “यसले हाम्रो आर्थिक अवस्थामा सुधार हुनेछ ।”
हीराजस्तै मटिहानी–३ आवर बस्तीकी ललितादेवी र मटिहानी–५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बीउ बोका पाएपछि अब आफ्ना गोठमा जन्मने पाठापाठी चाँडै बढ्ने, खदिलो मासु भएका र बढी तौलका हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । नगरक्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमशः बीउ बोका प्रदानको कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवले बताउनुभयो ।
यो कार्यक्रमले गरिब वर्गका किसानले आर्थिक उपार्जनमा थप अवसर बढाउने नगरप्रमुख मण्डल बताउनुहुन्छ । पशुपालनमात्र नभई नगरक्षेत्रमा मखान खेती गर्ने, अन्नबाली, तरकारी, दलहन र तेलहन बाली लगाउँदै आएका किसानलाई बीउ, मलदेखि खेतीमा आवश्यक प्राविधिक सहयोग र बजारीकरणमा पनि सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन