
सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् ।
सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।
यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताउनुभयो । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाउनुभएका उहाँ विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिनुभयो । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।
‘यसअघि खेतमा पानीको उपाय नै थिएन’ उहाँले भन्नुभयो– ‘पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।’ पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उहाँको भनाइ छ । ‘पहिला यही खेतमा एकपटक पानी तान्न ३ हजारदेखि ४ हजार रुपैयाँसम्म डिजलको खर्च हुन्थ्यो’ महतोले भन्नुभयो– ‘अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।’
स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् । सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताउनुभयो । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागत समेत नउठ्ने गरेको उहाँको अनुभव छ ।
‘यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए’ साहले भन्नुभयो, ‘गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।’ अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको साहले बताउनुभयो । उहाँले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गर्नुभएको छ ।
पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो । अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताउनुभयो ।
विद्युत् महशुल गाउँपालिकाले तिर्ने
चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ ।
आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उहाँहरूलाई सुविधा पुर्याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताउनुभयो । यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उहाँको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उहाँले बताउनुभयो ।
चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताउनुभयो । कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्रविधिकको भनाइ छ ।
कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताउनुभयो ।
यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ
- मंगलबार राप्रपाले बल्खुमा आमसभामा गर्ने, घुसपैठ भए प्रतिकारको चेतावनी
- धरानवासीलाई खानेपानी प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
- जडिबुटीमा आगो झोस्ने ४ जना पक्राउ
- अन्नपूर्ण हिउँपहिरोमा २ जना बेपत्ता
- यी हुन् कारागार जानू अघि रविले दिएका ४ सन्देश
- बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता
- सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ
- ‘संविधान मान्दिनँ भन्नु इमानको खडेरी’
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु