
तनहुँ । सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा । चारैतिर वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ ।
आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदैछ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।
स्थानीय हस्तबहादुर नेपालीले भन्नुभयो– ‘बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५÷२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो ।’
उहाँले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाउनुभयो । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ’ उहाँले भन्नुभयो– जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’
यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । बस्ती बसेको एकाउन्न वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् ।
यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो’ उहाँले भन्नुभयो– ‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ श्रेष्ठका अनुसार विसं २०७९ भदौमा १९ करोड रुपैयाँको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ ।
विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताउनुभयो ।
विसं २०५६ मा खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण शुरुवात गरेकामा हाल संस्थाले सानाठूला गरी चार योजनाबाट २ हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
- शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री
- निजामती विधेयक टुंग्याउन बडूको संयोजकत्वमा उपसमिति गठन
- जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : महामन्त्री थापा
- पाटन स्वास्थ्य विज्ञानको बजेट र कार्यक्रम स्वीकृत
- महासचिव घनश्याम भूसालद्वारा तीन महिने आन्दोलन कार्यक्रम प्रस्ताव
- सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवाः राष्ट्रपति
- माघमा ४७८ ठाउँमा आगलागी : २२ जनाको मृत्यु, ८७ घाइते