
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताउनुभएको छ ।
पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउनुहुने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताउनुभयो । पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप विच्छ्याउने लगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले बताउनुभयो ।
महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तित्वको पनि सहयोग आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायतस्थानमा भइरहेको महाशिवरात्रिको तयारीका कामको अवलोकन गर्नुभएको थियो ।
अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिनुभयो । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरु लगायतले उहाँलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।
महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर महाशिवरात्रिको तयारी भइरहेको सदस्य सचिव थापाले सुनाउनुभयो ।
मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन शुरु भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवं धुनी ताप्ने व्यवस्था शुरु गरिसकेका छन् ।
यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष, गुठी संस्थान, पशुपति क्षेत्रस्थित विभिन्न आश्रमले आवास, भोजन र धुनी ताप्ने व्यवस्था गर्ने गरेका छन् ।
महाशिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता
- कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु
- राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
- शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री
- निजामती विधेयक टुंग्याउन बडूको संयोजकत्वमा उपसमिति गठन
- जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : महामन्त्री थापा
- पाटन स्वास्थ्य विज्ञानको बजेट र कार्यक्रम स्वीकृत