+

घलडाँडामा सामूहिक गहुँखेती

तनहुँ ।  आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।


यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् ।  स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिनुभयो । घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती शुरु गरेको उहाँले बताउनुभयो । हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ । गुरुङले भन्नुभयो, ‘विगतमा गहुँखेतीका लागि राम्रो बीउ पाउन पनि समस्या हुन्थ्यो । कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ । बीउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।’

स्थानीय गङ्गा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताउनुभयो । उहाँले प्रविधि र बीउ सहयोग भएपछि सामूहिक गहुँखेती शुरु गरिएको बताउनुभयो ।  । स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङ लगायतले सामूहिक रुपमा गहुँखेती गरिरहनुभएको हो । 

गाउँपालिका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकहरू उत्साहका साथ  गहुँखेती गर्न थालेको जानकारी दिनुभयो । ‘यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ तर विगतमा बीउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए । हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि कृषकले सामूहिक खेती गर्न थाल्नुभएको छ’ उहाँले भन्नुभयो । यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताउनुभयो । 
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यहाँ उत्पादित गहुँ बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री वितरणका लागि पालिकाले हाटबजार नै चलाएको छ । हाटबजारबाट स्थानीय उत्पादन सहज रूपमा बिक्री वितरण भइरहेको छ ।’

गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको  अध्यक्ष चुमानले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट