+

सडक फराकिलो पार्न पेटी र टहरा भत्काइयो

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । 


मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताउनुभयो ।

सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण प्रस्तुुत गरेका उहाँले बताउनुभयो । हाल तीन दशमलव पाँच मिटर फराकिलो सडकलाई पाँच दशमलव पाँच मिटर फराकिलो बनाउन दायाँबायाँका संरचना हटाएका हुन् । दरवाङ बजारको अर्को टोलमा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित सडक विस्तार आयोजना प्रभावित क्षेत्रका केही घरधनीको विवादका कारण प्रभावित बनेको छ । 

मालिका गाउँपालिकाले चालुु आर्थिक वर्षमा  ४९ लाख रुपैयाँ विनियोजन गरेको दरवाङ बजार बाटो स्तरोन्नति योजनाअन्तर्गत हाल सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम भइरहेको उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले बताउनुभयो ।  

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ करिब चार सय मिटर लामो नाली निर्माणको काम थालिएको सचिव आचार्यले बताउनुभयो । पक्की नाली निर्माण भएपछि ढलान र कालोपत्र गरेर अर्को वर्ष सडकलाई पक्की बनाउने योजना छ ।

 तीन सय बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्की नाली र सडक निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै