+

भारतीय डाँका सिरहाबाट पक्राउ

सिरहा । मधेसका विभिन्न जिल्लामा डकैतीमा सम्लग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायवउपरीक्षक वीरेन्द्र पासवानका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसैनविरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर  ३८ लाख रुपैयाँ लुटेको घटनामा पनि उनी संलग्न रहेका थिए । 

त्यसैगरी २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई ९ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । तर सबै घटनामा मुद्दा दर्ता छैन ।’

भारतमा बसी नेपालमा सङ्गठित अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन  समूहका नाइके रहेको प्रहरीले जनाएको छ । त्यो समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । 

त्यो समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै