
गलकोट । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहोरा । रोजगारीका सिलसिलामा केही वर्ष कतार र मालदिभ्समा श्रम खर्चनुभएका उहाँ यतिबेला भने गाउँमै कृषि व्यवसायमा रमाउनुभएको छ ।
“पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन । अहिले गाउँमै गरेको कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ”, बोहोराले सुनाउनुभयो ।
बोहोरा विसं २०६४ सालमा रोजगारीका सिलसिलामा कतार पुग्नुभयो । त्यहाँ उहाँले भने जस्तो काम पाउनुभएन । कतारमा एक वर्ष बिताउँदा पैसा कमाउनुको साटो ऋण बोकेर घर फर्कनुभयो । त्यसपछि उहाँ मालदिभ्स पुग्नुभयो । त्यहाँ पनि तीन वर्ष काम गर्दा भने जस्तो पैसा जम्मा भएन ।
कतार र मालदिभ्समा काम गरेपछि उहाँलाई काम खोज्दै अर्को देश जान मन लागेन । त्यसपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गर्नुभयो । “गाउँ फर्केर बाँझो जग्गामा व्यवसायिक खेती सुरु गरेको १२ वर्ष भयो, आम्दानी त यहाँ पनि असाध्यै राम्रो त छैन तर आत्मसन्तुष्टि भने मिलेको छ”, उहाँले भन्नुभयो, “मालदिभ्समा कमाएको पैसा श्रीमतिलाई विदेश पठाउँदा खर्च भयो । श्रीमति फर्केर आइनन् । उतै घरजम गरिन । त्यसपछि फर्किर विदेश जान मलाई मनले दिएन । जे गरे पनि गाउँमै गर्छु भन्ने लाग्यो ।” त्यसपछि उहाँले दोस्रो विवाह गर्नुभयो ।
श्रीमती र छोरासहितको तीन जनाको उहाँको परिवार अहिले कृषिमै निर्भर छ । उहाँले हाल छ वटा आधुनिक र परम्परागत प्लाष्टिक टनेलमार्फत गोलभेडा, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमि फलाउनुभएको छ ।
उहाँको फार्ममा कागती, सुन्तला, अमिलोलगायतका फलफूल पनि छन् । साथमा एउटा दुहुनो गाई, एउटा भैँसी, कुटानीपिसानी मेसिन, पाँच वटा बाख्रा र एक दर्जन कुखुरा पनि छन् । “फार्म र परिवारको खर्च कटाएर केही रकम बचत समेत गर्न भ्याएको छु”, उहाँले भन्नुभयो ।
‘बोहोरा पशु तथा कृषि फार्म दर्ता’मार्फत उहाँले कृषि ज्ञान केन्द्र बागलुङबाट रु सात लाख अनुदान पाइसक्नुभएको छ । “श्रीमती फूलमाया रानाले मलाई सहयोग गर्छिन, तरकारीसँगै दूध, बाख्रा पनि बिक्री भइरहेको हुन्छ”, उहाँले भन्नुभयो, “आम्दानी भइरहेकाले सजिलो भएको छ ।”
बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाउनुभएको छ । स्थानीय तहले तरकारी उत्पादनको बजार सुनिश्चित गरिदिए आफू जस्ता किसानलाई सहज हुने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन