
झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ ।
मेचीनगर नगरपालिका–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उहाँले बताउनुभयो । हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जङ्गलमा आश्रय लिएर बसेको बताउनुभयो । उहाँका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन् । मोरङको कानेपोखरी जङ्गल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्री गर्नका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ ।
बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । “मकै हात्तीले असाध्यै मन पराउँछ”, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भन्नुभयो, “मोरङको अन्य पालिकाभन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ, हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।” उहाँले बिहान–बेलुका हिँड्डुल गर्दा र जङ्गल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गर्नुभएको छ । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन ।
गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आउनुभएका अभियानकर्मी लुइँटेलले बताउनुभयो । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जङ्गलमा छारिएर रहेको उहाँको भनाइ छ । उहाँले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जङ्गलभित्र रहेको दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह