
काठमाडौँ । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ ? ”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गर्नुभयो, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?”
सांसद कार्कीको जस्तै सांसद महेश बर्तौलाको प्रश्न थियो, “न्यायालयप्रति जनआस्था डगमगाएको छ, न्यायालयको ढोकादेखि इजलाससम्म न्याय किनबेच हुन्छ भन्ने आरोप छ नि ? यस्लाई नियन्त्रण गर्ने योजना के छ ? सांसदहरु ईश्वरी घर्तीको प्रश्न उस्तै थियो, “सर्वसाधरणले न्यायको अनुभूति कहिले गर्ने हो ?” सांसद पदम गिरीको प्रश्न पनि “न्याय महँगो भयो भन्ने आम गुनासो छ नि” भन्ने नै थियो ।
प्रस्तावित दुई न्यायाधीशको आज भएको संसदीय सुनुवाइमा अधिकांश सांसदले सार्वसाधरणको पहुँचमा न्याय हुन नसकेको, मुद्दा फछ्र्यौटको समयावधि लामो हुने गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा पीडित अझ धेरै पीडामा पर्ने गरेको र अदालतले मुुलुकको विकास निर्माणमा रोक्दा मुलुकलाई ठूलो क्षति पु¥याउने गरेको विषयमा प्रश्न राख्नुभएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश सुवेदीले छिटो न्याय दिनका लागि न्यायालयले योजना नै बनाएर काम गरिरहेको र पछिल्लो समयमा मुद्दाको तीव्र रुपमा सुनुवाइ भइरहेको बताउनुभयो । न्यायाधीश सुवेदीले मुद्दाको सुनुवाइ गर्दा न्यायिक मनको प्रयोग नगरी कानुन, तथ्य र प्रमाणका आधारमा आदेश वा फैसला गर्नुपर्ने जानकारी दिँदै थप्नुभयो, “मुद्दामा न्यायिक मन प्रयोग गर्न पाइँदैन कानुन र प्रमाण हेर्नु नै पर्ने हुन्छ, प्रमाण बुझ्नका लागि समय लाग्छ, छिटो न्याय दिन्छु भनेर प्रक्रिया पूरा नगरी हुँदैन ।”
आफूले २१ वर्ष वकालत गरेको र १४ वर्ष अदालतमा न्यायाधीशका रुपमा काम गरेको अनुभवलाई सर्वोच्च अदालतमा काम गर्ने स्पष्ट पार्नुभयो ।
अर्का प्रस्तावित न्यायाधीश मुसलमानले पेसीमा तोकिएको मुद्दा इमान्दारीपूर्वक पूरा समय काम गरेमा छिट्टै मुद्दाको फर्छ्यौट हुने सुनाउनुभयो । “छिटो न्याय दिनका लागि इमान्दारीपूर्वक पेसीमा तोकिएको मुद्दाको सुनुवाइ गर्नुपर्छ, समयावधिभरि मुद्दा हेरेर दैनिक पेसी सूचीका मुद्दा सक्नुपर्छ, काम गर्नुपर्छ ।”
सांसदहरु रमेश लेखक, जनार्दन शर्मा, जीवन परियार, ईश्वरी न्यौपाने, डोलप्रसाद अर्याल, रमेशजङ्ग रायमाझी, प्रकाश अधिकारी र देवेन्द्र दाहालले सार्वजनिक सरोकारका मुद्दा अदालतमा रिट निवेदनका रुपमा आउने र विकास निर्माणका काम रोकिने गरेको विषयमा प्रश्न राख्नुभएको थियो । प्रस्तावित न्यायाधीशद्वयले अदालतमा मुद्दा लिएर आएपछि पीडित पक्षको कुरा सुन्नुपर्ने भएकाले केही प्रभाव परेको भए पनि कानुन र प्रमाणका आधारमा न्याय निरुपण गर्ने गरेको जवाफ दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह