+

परिणाममुखी कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाममुखी कार्ययोजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले आव २०७९÷८० को प्रथम चौमासिकको तुलनामा चालु आवको त्यही अवधिमा देशको  अर्थतन्त्र विकास निर्माणसँग सम्बन्धित सूचक सकारात्मक देखिए पनि सन्तोष गर्ने ठाउँ नभएको भन्दै   एकअर्काका कमी–कमजोरी नदेखाएर पारस्परिक समन्वय र सहकार्यका साथ काम गर्न सुझाव दिनुभयो । 

‘मेरो नेतृत्वको सरकारको एकवर्षे कार्यकाल पूरा हुने चरणमा छ’ उहाँले भन्नुभयो – यस अवधिमा अपेक्षा गरिए अनुसारका काम हुनसकेका छैनन्, अब चौमासिक नभई वार्षिक कार्यक्रम, कार्ययोजना र उपलब्धिलाई वस्तुनिष्ठ समीक्षा गर्दै यसबीचमा भएका कमजोरी र सबल पक्षलाई  चिरफार गरी जनताले अनुभूत गर्नेगरी काम गर्न सबैसँग अपिल गर्दछु ।’

गएको साउनमा प्रतिबद्धता गरे अनुसारको परिणाम दिन केही मन्त्रालय असमर्थ भएकामा त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले निश्चित कार्यअवधिभित्र तोकिएको लक्ष्य पूरा नगर्नेलाई जिम्मेवारीबाट हटाउनुबाहेक आफूसँग अर्को विकल्प नरहेको चेतावनी दिनुभयो । उहाँले अर्को समीक्षा बैठकमा कार्ययोजनासहित प्रस्तुत हुन सबैलाई निर्देशन दिनुभयो । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौजुदा सार्वजनिक खरिद ऐन, पर्याप्त बजेट र जनशक्तिसहित आवश्यक समन्वय र सहकार्यको अभावलगायत विविध समस्याका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले चौमासिक प्रगति विवरण पेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै