
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको समस्या सुधार हुँदै गएको दाबी गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा बुध आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताउनुभयो । ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए’ उहाँले भन्नुभयो– ‘समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ । तर उत्पादन वृद्धि रोजगार वृद्धिका लागि केही समय लाग्छ । अर्थतन्त्रले निर्णायक रुप लिन्छ । यसका आधार बन्दै गएका छन् ।’
मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसँग निरन्तर छलफलपछि अहिले केही निर्णय आएको र यसले बैङ्क वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पु¥याएको अर्थमन्त्रीको भनाई छ । ‘राष्ट्र बैङ्कले नीतिगत दर घटाएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा छ’ उहाँले भन्नुभयो– ‘ऋणीका समस्यालाई पनि सम्बोधन गर्न खोजिएको छ । पुँजीबजार र घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिएका छन् ।’
अर्थमन्त्रीले वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले पनि बिस्तारै नतिजा देखाउँदै गएको बताउनुभयो । ‘वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन् । केही बन्ने क्रममा छन् । ठेक्का प्रक्रिया छिटोछरितो रुपमा अघि बढिरहेका छन्’ उहाँले भन्नुभयो– यसबाट पनि बजारमा प्रशस्त पुँजी प्रवाह हुने हाम्रो अपेक्षा छ । विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ । यथेष्ट प्रतिफल भएका आयोजना मात्रै सहयोग लिन्छौँ भनेका छौँ । दातृ निकाय पनि यसमा सकारात्मक छन् ।’
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो । ‘संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस्’ उहाँले भन्नुभयो– ‘हामीकहाँ वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याको पहाड थियो । त्यसलाई एकैपटक हल गर्छु भन्नू सम्भव थिएन । तर समस्या बिस्तारै हट्दैछन् । अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन, तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ ।’
चालु खर्चलाई एउटा सीमामा राखेको र पुँजीगत खर्च बढाउनतर्फ लागेको अर्थमन्त्रीको दाबी छ । ‘चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा राजस्व सङ्कलन पनि बढेको छ’ उहाँले भन्नुभयो– यो अवधिसम्ममा राजस्व सङ्कलन सात दशमल ५७ प्रतिशतको वृद्धि भएको छ । भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर (भ्याट० सात दशमलव १९ प्रतिशत र आयकरतर्फ १२ प्रतिशतले बढेको छ ।’ आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ बिस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।
अर्थमन्त्रीले अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने, जाजरकोटमा आएको भूकम्पप्रभावितलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवालाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्ने काम भइरहेको फेरिस्त सुनाउनुभयो ।
सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने अर्थमन्त्रीको भनाई छ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको महतले बताउनुभयो ।
‘दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ’ उहाँले भन्नुभयो ‘जलविद्युत्को विकास, पर्यटन, कृषिको व्यावसायिकीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ ।’ एनसेल खरिद–बिक्री प्रकरणमा नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि गतिविधि हुन नदिने अर्थमन्त्री डा महतले बताउनुभयो । ‘कानुन मान्छु भनेर आएको कम्पनीले अहिले कानुन मान्दिनँ भन्न पाउँदैन’ उहाँले भन्नुभयो– ‘नियामकले यस विषयलाई गम्भीर रुपमा हेर्छ । कानुनअनुसार उठाउनुपर्ने कर एनसेलबाट उठाउँछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन