+

संगठन बिस्तारबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा संगठन बिस्तारबारे गहन छलफल हुने भएको छ । एकीकृत समाजवादीले त्यसको लागि बिहीबारदेखि फेरि सचिवालय बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने सचिवालय बैठकमा संगठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने एकीकृत समाजवादी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । 

प्रवक्ता खतिवडाका अनुसार बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तयार पार्ने छ । पार्टीको वैचारिक दृष्टिकोणलाई जनतासम्म पुर्याउन सक्षम तथा अहिलेसम्म अवसर प्राप्त नगरेका नेतालाई प्राथमिकतामा राखेर बनाइने मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने उहाँले बताउनुभयो । 

देशभरको सांगठनिनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने  बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ । पार्टीको विधान हेरफेर गर्न आउँदो माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गर्नुहुने सचिवालय बैठक आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचन लगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारीबारे समीक्षा गरिने छ । बैठकले गर्ने निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेरबारे समेत छलफल हुने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै