+

तेह्रथुमको ढाका कपडाले पाएन बजार

तेह्रथुम । ढाकाको कपडा उत्पादनका लागि प्रख्यात तेह्रथुमका ढाका कपडाले बजार नपाउदा व्यवसायीहरु चिन्तित भएका छन् । विदेशी कपाडासंग प्रतिस्पर्धा गर्नु परेका कारण यहाँ उत्पादित ढाका कपडाको बजार खुम्चिदै गएको व्यवसायीको गुनासो छ ।  

म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहनुभएको छ । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोराको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी लिम्बूको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीबुन्ने तानमै बित्ने गर्छ  ।

एउटा सारी बुनिसक्न उहाँलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उहाँको भनाइ छ । बजारमा एउटा सारीको मूल्य रु छ हजारदेखि १३ हजारसम्म पर्दछ । सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक रु २२ हजार नाफा निकाल्ने गरेको दावि गर्नुहुन्छ ।   “सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ”, लिम्बूले भन्नुभयो । 

उहाँजस्तै सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको सारी बुनेरै गुजारा चलाउँदै आउनुभएको छ । सात वर्षयता श्रीमान् हराएपछि आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उहाँले ढाकाको सारी बुनेरै कक्षा छोरोको पढाइ खर्च पु¥याउनु भएको छ । डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रुपमा रु पाँचदेखि १० हजारसम्म बचत गर्ने गरेको उहाँको भनाइ छ । 

मेन्छ्यायेम गाउँपालिका–२ स्थायी घर भई म्याङलुङ क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको गलबन्दी बुन्ने गर्नुहुन्छ । गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक कुनामा सजिलै अट्छ । एक दिनमा एउटा गलबन्दी तयार हुने र यसमा रु ८०÷९० को धागो लाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बजारमा एउटा गलबन्दी रु दुई सयमा बिक्री हुन्छ । शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उहाँले पढेर बचेको समयमा गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको बताउनुहुन्छ ।

उहाँजस्तै अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको कपडा बुन्ने गर्नुहुन्छ । प्रतिमिटर रु आठ सयको दरले कोटको कपडा बिक्री गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उहाँको भनाइ छ । 

म्याङलुङबजार र आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ । ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा, सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन् । पेसाकै रुपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा बिक्री गर्ने गर्छन् । 


तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार म्याङलुङबाट वार्षिक रु एक करोड मूल्य बढीको ढाकाको कपडा जिल्लाबाहिर निर्यात हुने गर्दछ । तेह्रथुमबाट अलैँची, अदुवा र अम्लिसोपछि सबैभन्दा बढी ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको अध्यक्ष उहाँको भनाइ छ । म्याङलुङ नगरपालिका रोजगार संयोजक नवीन खतिवडाका अनुसार नगरपालिकामा अहिले उद्योग र निजी तानमा गरी झण्डै पाँच हजार जनाले ढाका बुन्ने काम गरिरहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रदीप पौडेलका अनुसार कार्यालयमा अहिले एक सय ५५ वटा ढाका कपडा उद्योग दर्ता भएका छन् भने जिल्लामा नौ ओटा ढाका कपडाका पसल छन् । ढाकाको उत्पादन धेरै हुँदा बजारको समस्या रहेको स्थानीय व्यवसायी भुवन नारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला छिमेकी जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, इलामलगायत राजधानी काठमाडौँमा ढाकाका धेरै कपडा निर्यात हुन्थ्यो, अहिले ती ठाउँमा पनि उत्पादन हुन थालेपछि माग कम भएको छ ।” सरकारले प्रत्येक कार्यालय र विद्यालयमा एक दिन मात्रै भए पनि ढाका कपडाको पोशाक अनिवार्य गर्ने हो भने बजारको समस्या नहुने उहाँको भनाइ छ ।

म्याङलुङमा ढाकाको कपडा पसल सञ्चालन गर्दै आउनुभएकी उज्ज्वलता सुब्बा दैनिक रु २०÷२५ हजारको ढाका कपडा बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार म्याङलुङबजार घुम्न आउने पर्यटक, पाहुनाहरु हुन् वा जिल्लाका कर्मचारी  जिल्लाबाहिर जाँदा कोसेलीका रुपमा ढाका कपडा किनेर लैजाने गर्दछन् । थोरै लगानीमा गर्न सकिने यस पेसाले स्थानीयस्तरमा रोजगारीको सिर्जना गरेको भएपनि बजारको अभावमा विस्तारै व्यवसायीहरु निराश देखिन्छन् । गाउँगाउँबाट स्थानीयस्तरमा हातले बुनेको ढाका कपडालाई विदेशी कपडाले प्रत्यक्ष प्रभाव पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै