
तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाई छ ।
यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पु¥याउन कठिनाइ भएको उहाँले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाटबजार सञ्चालनमा ल्याएपछि यस क्षेत्रका कृषकलाई कृषि उपजहरु बजारीकरणका लागि सजिलो भएको गुरुङले बताउनुभयो ।
‘गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ’ उहाँले भन्नुभयो– ‘हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ । छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि यहाँका कृषक हर्षित भएका छन् ।’
मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ । कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ ।’
स्थानीय कृषक सङ्गीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरु झन् उत्साहित भएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ ।
गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । वार्षिक दश लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उहाँले बताउनुभयो ।
किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ । किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ ।’ यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाई छ ।
हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ । स्थानीय स्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरु यहाँका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो ।
छिम्केश्वरीका कृषकले हाटबजारबाट एकै दिन रु एक लाख ७८ हजार छ सयको कृषि सामग्री बिक्री वितरण गरेका छन् । त्यो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको छ । उहाँले भन्नुभयो– ‘यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ । मागअनुसार पु¥याउनै सकिएको छैन । यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह