
काठमाडौँ । नेपाल शिरोमणिसमेत भनिने बज्रयोगिनी माईको जात्रा साँखुमा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा शुरु भएको मानिन्छ । औपचारिक जात्रा भने चैत्र शुक्ल पूर्णिमादेखि नै शुरु हुन्छ ।
नेवारी परम्पराअनुसार चैत्र शुकल अष्टमी अर्थात् गत चैत २३ गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ । यो जात्रा चलेका बेला पानी पर्दासमेत साँखुमा छाता ओढ्न नपाइने नियम छ । यसैगरी घोडा हात्ती चढ्न नपाइने, घर भत्काउन र नयाँ बनाउन नपाइने, छतमा चढेर काम गर्न नपाइने जस्ता नियम लागू भएको छ ।
साथै झै–झगडा गर्न नपाइने, साहुले ऋणीलाई समात्न नपाइने, यी र यस्ता नियमहरु उर्दी लाउने परम्परा छ । पूर्णिमाका दिन चैत ३० गते बज्रयोगिनी माता, सिंहिणी, व्याघ्रिनी लगायत देवीदेवता रथमा सवार गराइ बज्रयोगिनीबाट साँखु बजार ल्याइएको छ । यो जात्रा साँखुका आठ वटै टोलमा प्रत्येक वर्ष पालैपालो राख्ने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।
यो जात्रालाई साँखुको मात्रै हैन उपत्यकाकै विशेष जात्राको रुपमा लिइन्छ । यहाँको रथ ठूला ठूला हुने र देवी देवता पनि खुला रुपमा राखिने हुँदा अन्य सहरहरुमा हुने जात्राको तुलनामा देवीदेवताको मूर्ति भव्य देखिने गर्छ ।
पूर्णिमादेखि शुरु हुने जात्रामा प्रतिपदाको दिनलाई शून्यका भनिन्छ । द्वितीयाको दिनलाई नखः र तृतीयाको दिन साँखु बजारमा बज्रयोगिनी माईलाई सिंहिणी, व्याघ्रिनीलगायत बसुन्धरा माताको समेत नगर परिक्रमा गराइन्छ ।
चतुर्थीको दिनलाई मू–भुज्या भनिन्छ भने पञ्चमीको दिनलाई धुँभूज्या र षष्ठीको दिनलाई बौविज्या भनिन्छ । सप्तमीको दिनलाई थहाँ विज्याः भनिन्छ । यस दिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउन विशेष होम गरी साँखुमा पूजा आजा सकिएपछि मात्रै देवी देवताहरु रथमा सवार गराउने परम्परा रहेको यहाँको संस्कृतिका बारेमा खोज अनुसन्धान गरिरहनुभएका प्रकाशमान श्रेष्ठ सक्वले राससलाई जानकारी दिुनुभयो ।
राति रथमा राखिने भएकाले एक आधा घण्टा जात्रा गरी सकिन्छ । भोलिपल्ट अष्टमीको दिन भने साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पु¥याई जात्रा समापन गरिन्छ । यस क्रममा साँखुको कोलागाल कटेपछि घुमारचोकका स्थानीय तामाङ समुदायले माईलाई माईती फर्काउने भन्दै जात्रामा सहभागी हुनुका साथै उनीहरुले सो दिन विशेष पूजा आजाका साथ भोज भतेर गर्दछन् । यो जात्रामा नेवार र तामाङ समुदायको मिलन हुने गर्छ ।
नेवार समुदायले दशमी र एकादशीको दिन राजा रानीको तर्फबाट विचाः पूजा भनी बज्रयोगिनी माईलगायत सम्पूर्ण देवीदेवताको पूजा आजा गरी वनभोज खान जाने चलन छ । यसरी पूजा गर्न जाने कामलाई नेवार समुदायले विचाःपूजा भन्दछन् । यसको अर्थ देवी देवताको हालखबर बुझ्न जानु हो भन्ने बुझिन्छ ।
बज्रयोगिनी जात्राका लागि मल्लकालमा राजा आफैँ आउने व्यवस्था थियो । अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धमा रहँदा उनले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि हालसम्म राज खड्ग ल्याउने परम्परा कायमै रहेको विश्वास गरिन्छ ।
बज्रयोगिनी जात्रामा साँखु वरपरका बासिन्दा मात्र नभई उपत्यका बाहिरका श्रद्धालु दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल
- स्थानीय तहलाई राजस्वको १२ प्रतिशत ऋण उठाउन सिफारिस
- ‘नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्’
- सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा