
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष ३ तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ ।
आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा सङ्घ सरकारले मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत कुल राजस्वको १२ प्रतिशतभन्दा बढी नहुनेगरी ऋण उठाउन पाउने व्यवस्था भएको छ ।
‘देशको समष्टिगत आर्थिक स्थिति, राजस्व तथा खर्चको अनुमान र बजार सहजताको विश्लेषण गरी सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्नेछ’ आयोगको सिफारिसमा भनिएको छ ।
आन्तरिक ऋण उठाएर पुँजी सिर्जना गर्ने क्षेत्रमा मात्र सरकारले लगानी गर्नुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय नीति तथा योजनामा आधारित भई लागत–लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर वा खुद वर्तमान मूल्य उपयुक्त भएका परियोजना, राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र मध्यकालीन खर्च संरचनाअन्तर्गतको पहिलो प्राथमिकता प्राप्त आयोजनाका लागि मात्र आन्तरिक ऋण उठाउन आयोगको सिफारिस छ ।
प्रदेश र स्थानीय तहहरुले भने तोकिएको कानूनी प्रक्रिया पूरा गरेर मात्रै ऋण उठाउन सक्नेछन् । यसअघि सङ्घ सरकारको अनुमतिविना प्रदेशहरुले घाटा बजेट ल्याएर आन्तरिक ऋणलाई स्रोतका रुपमा देखाउने गर्दथे । तर वित्त आयोगले प्रक्रिया पूरा गरेर मात्रै आन्तरिक ऋणलाई स्रोतका रुपमा देखाउन भनेको छ ।
‘प्रदेश सरकारहरुले आन्तरिक ऋण परिचालनको संरचनागत र प्रक्रियागत प्रबन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८२÷८३ मा सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेश सरकारको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको बाह्र प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्नेछन्’ सिफारिसमा भनिएको छ । प्रदेशहरुले पनि आन्तरिक ऋण उठाएको रकमलाई पुँजी सिर्जना गर्ने र गौरवका आयोजनामा लगानी गर्नुपर्ने छ ।
प्रदेश सरकार मात्र नभई स्थानीय तहहरुले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्षका लागि स्थानीय तहहरुले सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र उनीहरुको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको बाह्र प्रतिशत नबढ्ने ऋण उठाउन सक्नेछन् ।
‘पुँजी सिर्जना गर्ने आयोजनामा मात्रै लगानी गर्नू’
वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ । चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ । ‘आन्तरिक ऋणको उपयोग रोजगारीका अवसर सिर्जना, दीर्घकालीन लाभ प्रदान गर्ने तथा पुँजी निर्माणमा योगदान गर्नसक्ने आयोजनाहरुका लागि विनियोजन गरिनुपर्दछ । चालु र प्रशासनिक खर्चमा कडाईका साथ निषेध गरिनुपर्छ’ आयोगको सिफारिसमो छ ।
आयोजनाको पुँजीको लागत भन्दा आन्तरिक प्रतिफल दर अधिक भएका नाफामूलक आयोजनामा ऋण लगानी गर्नुपर्ने छ । ऋण लगानी गरी सञ्चालन हुने क्रमागत आयोजना वा नयाँ आयोजना पहिचान, विकास र छनोट गर्दा अन्य विषयका अतिरिक्त आयोजना वा कार्यक्रमको कार्यान्वयनबाट प्राप्त हुने प्रतिफलबाट ऋण लगानीको साँवा र ब्याज भुक्तानी गर्न सकिने सुनिश्चिता हुनुपर्ने छ । आयोगको सिफारिसअनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना, आय वृद्धि, पूर्वाधार विकास र पुँजी निर्माण हुने पूर्वतयारी सम्पन्न भएका आयोजनामा आन्तरिक ऋण परिचालन गर्न सकिनेछ ।
यसैगरी अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ मा उल्लेख भएबमोजिम सरकारको स्वीकृति प्राप्त भएपछि मात्र प्रदेश र स्थानीय सरकारहरुले आन्तरिक ऋणलाई बजेटमा स्रोतको रुपमा उल्लेख गर्नुपर्ने सुझाव आयोगको छ ।। तर प्रदेशहरु भने आफुखुशी बजेट स्रोतका रुपमा आन्तरिक ऋण देखाउँदै आएका छन् ।
ऋण उठाउन सक्दैनन् प्रदेश, सङ्घ सरकारको स्वीकृतिविना बजेट स्रोत देखाउँदैः
नेपालको संविधान, २०७२ ले प्रदेश र स्थानीय तहलाई पनि आन्तरिक ऋण उठाउन सक्ने अधिकार दिएको छ भने बाह्य ऋण सङ्घ सरकारले मात्रै उठाउन पाउँछ । संविधानको धारा २५१ को व्यवस्थाबमोजिम तीनवटै तहका सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने जिम्मेवारी तथा दायित्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो । आयोगले आर्थिक वर्ष २०७५÷७६ देखि प्रदेश र स्थानीय सरकारलाई उनीहरुले उठाउन सक्ने ऋणको सीमा सिफारिस गर्दै आएको छ ।
वित्त आयोगको सिफारिस हेर्दा आर्थिक वर्ष २०७५÷७६ मा सङ्घीय सरकारलाई अनुमानित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहलाई उनीहरुको आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकमको १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सक्ने सुझाव दिएको देखिन्छ । प्रदेश र स्थानीय सरकारले उठाउन सक्ने ऋणको सीमा आर्थिक वर्ष २०७७÷७८ पछि भने बढाएर १२ प्रतिशत पु¥याइयो । आगामी आर्थिक वर्षका लागि पनि वित्त आयोगले यहि सिफारिस गरेको छ । प्रदेश र स्थानीय सरकारले आफ्नो राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकमको १२ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने व्यवस्था छ ।
सङ्घीयता कार्यान्वयन भएसँगै प्रदेश र स्थानीय सरकारले आर्थिक अधिकार पनि पाएका छन् । आफ्नो क्षेत्राधिकारभित्र बसेर आर्थिक अधिकारसम्बन्धी कानुन बनाउने, नीति तथा योजना तयार पार्ने, वार्षिक बजेट तर्जुमा गर्ने तथा कार्यक्रम कार्यान्वयन गर्ने र त्यसको लेखाङ्कन एवं लेखापरीक्षणसम्मका अधिकार प्रदेश र स्थानीय सरकारलाई छ । उनीहरुले आफ्नो वार्षिक बजेट अनुमान गर्दा अनुमानित आयभन्दा व्यय बढी हुनेगरी घाटा बजेट पनि जारी गर्न सक्छन् ।
केही प्रदेश र स्थानीय सरकारले आफ्नो घाटा बजेट पूर्ति गर्नका लागि अर्थात् वार्षिक बजेटको स्रोतमा आन्तरिक ऋण लाई देखाउँदै आएका भएपनि उनीहरुले हालसम्म आन्तरिक ऋण सङ्कलन र परिचालन भने गरेको देखिँदैन । उदाहरणका लागि गण्डकी प्रदेशले आन्तरिक ऋण उठाउने भन्न थालेको सात वर्ष भयो । गण्डकी प्रदेशको आर्थिक वर्ष २०७६÷७७ यताका सबै बजेटको स्रोतमा आन्तरिक ऋणलाई पनि राखिएको छ ।
बागमती र सुदूरपश्चिम बाहेक अरु सबै प्रदेशका सरकारले कुनै न कुनै वर्षको बजेट स्रोतमा आन्तरिक ऋण देखाएका छन् । तर हालसम्म पनि कुनैपनि प्रदेशले आन्तरिक ऋण उठाएर उपयोग गर्न नसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल
- स्थानीय तहलाई राजस्वको १२ प्रतिशत ऋण उठाउन सिफारिस
- ‘नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्’
- सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा