
नवलपुर । कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती शुरु गरेका हुन् ।
दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । ‘व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो’, उहाँले भन्नुभयो– ‘प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।’
पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा ३१ हजार रुपैयाँ आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा एक लाख ४४ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।
‘समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ’ अध्यक्ष बरालले भन्नुभयो– ‘बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।’
प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले १२ लाख रुपैयाँ मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत पाँच लाख रहेकामा यसबाट कम्तीमा सात लाख रुपैयाँ बचत हुने उहाँले बताउनुभयो । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ ।
सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताउनुभयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताउनुभयो ।
‘गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिक रुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ’ उहाँले भन्नुभयो– ‘श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग