+

‘दिउँसो प्रशासनको गस्ती, मध्यरात क्रसर संचालकको मस्ती’

सर्लाही । मापदण्ड विपरीत भएको भन्दै गृह प्रशासनले बन्द गर्न आदेश दिएको ‘प्रिन्स क्रसर’  रातमा भने संचालन हुन थालेको छ ।  संचालकले न्यूनतम् मापदण्ड समेत पूरा नगरेको भन्दै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको आदेशमा बन्द गरिएको  क्रसर  प्रशासनलाई झुक्याएर राति संचालन हुन थालेको हो । 

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जमा रहेको ‘प्रिन्स क्रसर’ जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार दुई महिनादेखि बन्द छ । यसरी बन्द भएको क्रसरले प्रशासनलाई झुक्याएर राति १२ बजे देखि विहान ५ बजे सम्म संचालन हुने गरेको छ । त्यस सम्बन्धमा नेपालकैरनले समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गृहको आदेश विपरीत संचालन गरेको भए कारवाही गर्ने चेतावनी समेत दिनुभएको थियो । क्रसर आसपासमा प्रहरी गस्ती बढाउनु भएको थियो । मंगलबार र बुधबार दिनभरी जसो जनपथ र सशस्त्र प्रहरीले गस्ती गरेर हाई कमाण्डलाई क्रसर बन्द अवस्थामा रहेको रिपोर्ट गरेका थिए । 

दिनभरी यसरी प्रहरीले गस्ती गरेपनि क्रसर संचालकले राति  लुकिछिपी संचालन गर्दै आएका छन् । बुधबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म क्रसरभन्दा १ किलोमिटर वरै सेन्ट्री राखेर क्रसर संचालन गरेको एक स्थानीयले जनाएका छन् । 

यररी मध्यरातमा क्रसर संचालन भएको साविकको वडा नम्बर एक देखि प्रताप टोल हुँदै साविकको वडा नम्बर सात सम्मका धेरै स्थानीयले पुष्टि गरेका छन् । क्रसर संचालकको धम्कीका कारण समाचारमा नाम उल्लेख नगर्ने सर्तमा मात्रै उनिहरु नेपालकैरनसंग बोल्न तयार भएका थिए । ‘विगत दुई महिना देखि क्रसर बन्द हुँदा हामीले राहतको अनुभूती गरेका थियौँ, अहिले पुनः लुकिछिपी संचालन गर्न थालेको छ, प्रशासनले  पक्कैपनि कारवाही गर्ला’, स्थानीयको भनाई छ।        

घनाबस्तीबीचमा मापदण्ड विपरीत संचालनमा रहेको क्रसरले स्थानीयलाई हैरान पारेको भन्दै केही समय पहिला ७२ जना स्थानीयले हस्ताक्षरसहित गृहमन्त्रीलाई ज्ञापनपत्र दिएका थिए । त्यही अनुसार मापदण्ड नपुगेको पाइएपछि गृहको आदेशमा  क्रसर बन्द गरिएपनि प्रशासनलाई झुक्याएर क्रसर संचालन गरिएको हो ।


ईलाका प्रहरी कार्यालय लालबन्दीले गृहको आदेश अनुसार यो क्रसर बन्द रहेको जनाएको छ । नेपालकैरनसंग कुरागर्दै ईलाका प्रहरी कार्यालय लालबन्दीका सई उमेन्द्र यादवले रातको समयमा लुकिछिपी क्रसर संचालन गरेको भए रातमा पनि गस्ती बढाएर निगरानी गरिने र अवैद्ध रुपमा संचालन गरेको रहेछ भने कारवाही गरिने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट