
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो ।
पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उहाँले बताउनुभयो । ‘पहिल–गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ । आम्दानी पनि ठीकै भएको छ ।’
एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको उहाँले जानकारी दिनुभयो । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उहाँको भनाइ छ । पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरुले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताउनुभयो ।
‘पहिला गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे”, उहाँले भन्नुभयो– ‘तर, पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि यो काम थालेका हौँ ।’
समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको एक लाख ४० हजार रुपैयाँले वाद्य सामग्री खरिद गरेको हो । यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आवद्ध हुनुहुन्छ ।
पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताउनुभयो । ‘भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै माग गरिरहेका छौँ’ उहाँले भन्नुभयो । पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
‘गाउँमा झगडा भएमा मिलाइदिन् पर्यो भन्दै खासगरी दिदीबहिनीहरु आउनुहुन्छ’ उहाँले भन्नुभयो– ‘त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।’ घरहरुमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ ।
सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रुपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरुले यो कार्य गरेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ
- मंगलबार राप्रपाले बल्खुमा आमसभामा गर्ने, घुसपैठ भए प्रतिकारको चेतावनी
- धरानवासीलाई खानेपानी प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
- जडिबुटीमा आगो झोस्ने ४ जना पक्राउ
- अन्नपूर्ण हिउँपहिरोमा २ जना बेपत्ता
- यी हुन् कारागार जानू अघि रविले दिएका ४ सन्देश
- बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता
- सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ
- ‘संविधान मान्दिनँ भन्नु इमानको खडेरी’
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु