
नवलपुर । गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै छिमेकी जिल्लामा समेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो । यसवर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट–१ की पुष्प व्यवसायी मीना केसीले बताउनुभयो । विगतको वर्षको तुलनामा यसवर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्ला बाहिरबाट समेत माग आएको उहाँले उल्लेख गर्नुभयो ।
‘बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै शुरु भएको छ’ उहाँले भन्नुभयो– ‘तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ ।’ एक्लो प्रयासमा तीन कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको भन्दै केसीले बीउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताउनुभयो ।
फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने केसीले बताउनुभयो । गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा ६० देखि एक सय रुपैयाँ सम्म तथा फूल प्रतिकिलो ३ सय ५० देखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।
फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरुलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आजदेखि भने आमउपभोक्तालाई लक्षित गरी फूल टिप्न शुरु गरिएको केसीले बताउनुभयो । ‘तिहारका लागि फूलको माग आइरहेको छ’ उहाँले भन्नुभयो– ‘आजदेखि फूल टिपेर सर्वसाधारणका लागि पनि बिक्री वितरण गर्ने गरी तयारी गरेका छौँ ।’
गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन शुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बीउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताउनुभयो ।
‘हामीले सयपत्री फूलको बीउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ’, उहाँले भन्नुभयो, ‘फूलखेतीको नियमित हेरचाह र रोगकीराको सङ्क्रमण देखिँदा किसानलाई प्राविधिक सहयोग समेत गर्दै आएका छौँ ।’
कृषि विकास शाखा प्रमुख शर्माकाअनुसार यसवर्ष गैँडाकोट नगरपालिकाभित्र मात्रै ४१ जना किसानले एक कठ्ठादेखि एक बिघा जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । ‘व्यावसायिक रुपमा खेती गरेका किसानले पाँच बिघा भन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन्’ उहाँले भन्नुभयो– ‘व्यक्तिगत प्रयोजनका लागि समेत यहाँ फूलखेती गरिने हुँदा नगरपालिकाभित्र करिब आठ बिघा क्षेत्रफलमा फूलखेती भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नेपालले कतारलाई ८ विकेटले हरायो
- अछाममा भीषण आगलागी, २७ घर जल्यो
- नारायणगढ–बुटवल सडक : दाउन्नेमा आजदेखि चार घण्टा बन्द
- आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद