
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताउनुभएको छ ।
अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ’ ढकालले भन्नुभयो ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको र उहाँले सोमबार सबै मन्त्रालय समेटी मन्त्रिपरिषद् विस्तार गरिसक्नुभएको छ ।
अध्यक्ष ढकालले तीन पटकसम्म मुलुकको नेतृत्व गरिसक्नुभएका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरुत्थानमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले लिएको ढकालले उल्लेख गर्नुभयो ।
‘सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने गरेको हाम्रो विगत छ तर प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ । यसबाट पनि अब सरकारी काममा चुस्तता आउनाका साथै लगानीकर्ताहरुमा स्थायित्वको सन्देश प्रवाह भएको अपेक्षा गरिएको छ’ उहाँले भन्नुभयो ।
अर्थ मन्त्रालयमा यसअघि पनि पटक–पटक अर्थमन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो– ‘अहिले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायको निरन्तरको प्रयासबाट बिस्तारै आफ्नो लयमा फर्किन लागेको मुलुकको अर्थतन्त्रले अनुभवी अर्थमन्त्री खोजेको समयमा विष्णु पौडेलको नेतृत्वले यस क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।’
‘अर्थमन्त्रीका रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीका रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रका चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ’ उहाँले भन्नुभयो । नेपालको समग्र निजी क्षेत्र अर्थमन्त्रीसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार रहेको पनि अध्यक्ष ढकालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग