
गोरखा । सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्न सुरु गरेका छन् ।
व्यावसायिक सीपमूलक तालिमबाट सिकेर महिलाले सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिदलखन–५ स्थित नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले जानकारी दिनुभयो ।
“नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “तालिमसँगै वडा कार्यालय र एड्वानकोसमेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।”
उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उहाँको भनाइ छ । उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ ।
“भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ”, परियारले भन्नुभयो, “अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ । कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उहाँको भनाइ छ ।
“फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो”, उहाँले भन्नुभयो, “उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो ।” उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उहाँको भनाइ छ ।
प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ । समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिनुभयो ।
उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उहाँको भनाइ छ । “नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पु¥याउन सक्छौँ भन्ने लागेको छ”, परियारले भन्नुभयो, “तत्कालका लागि सेनेटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ ।”
उत्पादित प्याड परीक्षणका लागि बजारमा रु ५० प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ । “बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट रु ७० मा बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।
उद्योग सञ्चालनका लागि अहिलेसम्म रु १५ लाख ५० हजारभन्दा बढी लगानी भइसकेको छ । वडा नं ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी