
बागलुङ । विगतमा यहाँ लाग्ने चैतेदशैँ को मेलामा अत्यधिक बिक्री हुने ठेका, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ । पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार वर्षेनी खस्कँदै आएको व्यापारीहरुको भनाइ छ ।
विगतमा चैतेदशैँ को अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ । यद्यपि परम्परा धान्नकै लागि भने यसप्रकार घरेलु सामग्रीको उत्पादन भने भइरहेको उनीहरुले बताएका छन् ।
बागलुङको बडिगाड गाउँपालिका–४ खिमबहादुर विकले पुर्खाको परम्परा धान्नकै लागि आठ वर्षयता निरन्तर चैतेदसैँ मेलामा डालो, नाङ्लो र डाली बिक्री गर्न आइरहेको सुनाउनुभयो । उहाँले एक सय डाला बिक्री गर्न पनि मुस्किल परेको गुनासो गर्नुभयो ।
‘बाबाले नाला र नाङ्लो बुनेर चैतेदसैँमा ल्याउने गर्नुहुन्थ्यो, बाबा बित्नुभएको सात वर्ष पुग्यो, परम्परा धान्नकै लागि अहिले डाला र नाङ्लो बुनेर चैतेदशैँ मेलामा आउन थालेको छु’ उहाँले भन्नुभयो– ‘एउटा डालो बुन्न दुई दिन लाग्छ, यहाँ एक हजार रुपैयाँमा पनि बिक्री गर्न मुस्किल छ ।” उहाँले अब नाफाका लागि नभइ परम्परा धान्नमात्रै डालाडाली बुन्दै आएको बताउनुभयो ।
‘डाला बुन्ने निगालो लिन सामुदायिक वनमा जानुपर्छ, एउटा निगालोको मूल्य ६ सय रुपैयाँपर्छ, बाबाले सिकाएको काम मैले गरे पनि छोरा र नातीहरुले गर्दैनन्’ उहाँले भन्नुभयो ।
विकसहित बडिगाडका शशिराम सन्दाखरी लगायतका व्यापारी अहिले बागलुङको चैतेदशैँ मेलामा डाला, डाली र नाङ्लो बिक्री गर्न आउनुभएको छ । चैतेदशैँमा बिक्री हुने डाला, डाली र नाङ्लो अधिकांश बडिगाड गाउँपालिका, तङ्ग्राम र धम्जामा उत्पादन भएको छ । केही व्यापारीले तनहुँबाट समेत मान्द्रोे, मुडा र गुन्द्री व्यापारका लागि लिएर आउनुभएको छ ।
तीस वर्षदेखि चैतेदशैँ मेलामा चोयाका सामग्री डाला, नाङ्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउने गरेको बडिगाडका डालो व्यापारी सन्दाखरीले बताउनुभयो । उहाँले शुक्रबारबाट शुरु भएको मेलामा ५० थान डाला बिक्री भएको बताउनुभयो । उहाँले पहिलाको तुलनामा अहिले डालो नै कम उत्पादन हुने गरेको उल्लेख गर्नुभयो ।
चैत ३० गतेबाट सुरु भएको चैतेदशैँ मेला बिहीबारसम्म चल्नेछ । ‘एक सय वटा डाला बिक्री गर्न मुस्किल छ, अहिलेको ढुवानी खर्च, निगालो खरिदको मूल्यले ज्याला उठ्नै समस्या भए पनि परम्परागत रूपमा गर्दै आएको पेशा बुढेसकालमा छाड्न सकिँदैन’ सन्दाखरीले भन्नुभयो– ‘आफू बाचुञ्जेल चैतेदशैँ मेलामा डालो बिक्री गर्न आउँछु, छोरा, नातिले के गर्छन् थाहा छैन, डालो बिक्रीबाट घर खर्चमात्रै चल्ने गरेको छ ।’
वर्षेनी डालाको व्यापार घट्दै गएपछि सन्दाखरीले डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताउनुभयो । उहाँले पछिल्लो एक दशकयता घरेलु उत्पादन सामग्री मेलामा रूचाउन छाडिएको सुनाउनुभयो ।
वर्षभरि उत्पादन गरेको निगालोको चोयाको डाली, नाङ्ला र डालो चैतेदसैँ मेला, रिडीको मेला र शान्तिपुरको मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आएको सन्दाखरीले अब चोयाको उत्पादनबाट जीवन धान्न मुस्किल रहेको बताउनुभयो । उहाँले ठूलो डालोलाई मुस्किलले रु एक हजारमा बिक्री गर्दै आएको बताउनुभयो ।
चोयाबाट डाला, नाङ्ला, डोको, थुन्सेलगायतका सामग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै अहिलेसम्म चोयाका सामग्री लिएर चैतेदसैँ मेलामा आउन थालेको उहाँको भनाइ छ । पछिल्लो समय प्लाष्टिकका भाँडाकुँडाका कारण चोयाका सामग्री कम बिक्री भइरहेको छ । उहाँका तीन छोराले चोयाको सामग्री बनाउन सिकेका छैनन् ।
चैतेदशैँ मेलाको अर्को पहिचानका रूपमा रहेको दारको ठेकाको व्यापार पछिल्लो समय निकै कम भएको बागलुङको बलेवा अमलाचौरबाट चैतेदसैँमा ठेका बिक्रीका लागि आउनुभएको टीका चुँदाराले बताउनुभयो । उहाँले भैँसी पाल्ने परम्परा हट्न थालेपछि ठेकाको व्यापार घटेको बताउनुभयो । अहिले प्लाष्टिक र स्टिलको भाँडामा मोही पार्ने चलन आएको भन्दै उहाँले परम्परागत ठेकामा पारेको मोही र घ्यू स्वास्थकर हुने भन्दै चेतनाको अभावमा ठेका किन्नै छोडेको उल्लेख गर्नुभयो ।
‘सात वर्षअघिसम्म त ठेकाठेकीको व्यापार निकै राम्रो थियो, वर्षभरि उत्पादन गरेका ठेकाठेकी चैतेदसैँमा व्यापार गरेरै सकिन्थ्यो’ टीका चुदाँराले भन्नुभयो– ‘१२ वर्षको उमेरबाट चैतेदशैँमा बाबासँग ठेका बिक्रीका लागि आएको अहिले ६० वर्षको उमेरमा समेत आउँदैछु, बीस घर चुँदारा परिवारमा पाँच घरमा मात्रै यो पेसा सीमित छ, आफू बाचुञ्जेल ठेका बनाइन्छ, छोराछोरीले यो पेसा सिक्नै मान्दैनन् ।’
अहिले आयातित सामग्री खरिदमा स्थानीयको भीड लाग्ने गरेको उहाँको भनाइ छ । आधुनिक उपकरणको विकासले ठेकाको व्यापार खस्केको बताउँदै चैतेदशैँको परम्परा धान्न मात्रै ठेका बिक्रीका लागि ल्याएको बताउनुभयो । एक मानादेखि दुई पाथीसम्मका ४० ठेका बिक्रीका लागि आए पनि हालसम्म पाँचवटा मात्रै बिक्री भएको चुँदाराको भनाइ छ ।
चुदाराले गुल्मीसम्म पुगेर ठेका उत्पादन गर्दै आउनुभएको छ । उहाँले ठेकाठेकी बनाउने प्रचलन पुस्ता हस्तान्तरण नहुँदा आगामी दिनमा लोप भएर जाने बताउनुभयो । चैतेदशैँमेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी