
म्याग्दी । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१ र ८२ मा गौरवका ६ आयोजना सञ्चालन गरेको छ ।
१२ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने ३ करोड २० लाख रुपैयाँ विनियोजन भएका चारवटा योजना सालबसाली हुन् ।
सङ्घीय र प्रदेश सरकारको विशेष तथा समपूरक अनुदानमा सञ्चालित चारवटा सालबसाली आयोजनाको ठेक्का सम्झौता गरेर कार्यान्वयन थालिएको गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको ४० लाख रुपैयाँ विनियोजन गरेको वडा नम्बर ४ मुदीको वडा कार्यालय भवन निर्माणका लागि मालिका भगवती कन्ट्रक्सनसँग ८४ लाख ९६ लाखमा ठेक्का सम्झौता भएको छ ।
ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर चारकोठे भवनको भुइँ तलामा ढलानको तयारी गरेको छ । पहिलो तलामा सभाहल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।
सङ्घीय सरकारको रु एक करोड १० लाख विशेष अनुदान प्राप्त भएको मन्छिम–शिवाङ–हिलापोखरी ‘एक घर, एक धारा’ खानेपानी योजना निर्माणका लागि बागेश्वरी कन्ट्रक्सन काठमाडौँसँग ८२ लाख ३९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यस आयोजनामार्फत धवलागिरी–७ का मच्छिम, शिवाङ र हिलापोखरीका करिब तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।
सङ्घीय सरकार र गाउँपालिकाले ३५–३५ लाख रुपैयाँ विनियोजन गरेको लुलाङ–गुर्जा सडक निर्माणका लागि रारा तेन्जिन कन्ट्रक्सन प्रालिले ३२ लाख ८९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । गत वर्ष सङ्घीय, प्रदेश र गाउँपालिकाले विनियोजन गरेको ६ करोड रुपैयाँ बाट लुलाङ–गुर्जा सडकको लुलाङबाट देउराली लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । यस वर्षको ठेक्कामार्फत लत्रवाङबाट गुर्जातर्फ सडक निर्माण गर्न थालिएको छ ।
त्यसैगरी, सङ्घीय विशेष अनुदान ४० लाख रुपैयाँ विनियोजन भएको मुदी ढल व्यवस्थापन योजनाका लागि भण्डारी ढोरपाटन निर्माण सेवाले ३७ लाख ७७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । योजनामार्फत मुदीगाउँमा ढल व्यवस्थापनका लागि ४ सय मिटर पक्की नहर निर्माण गरिने पूर्वाधार शाखाका प्रमुख रावलले बताउनुभयो ।
बर्खामा बस्तीमाथिको पाखोबाट आउने बाढीलाई व्यवस्थित बगाउन पक्की नाला निर्माण गर्न लागिएको हो । वडाध्यक्ष घर्तीका अनुसार दुई सय ७० घरपरिवारको बसोबास रहेको मुदीमा बर्खायाममा बस्तीमाथिको पाखोबाट आउने बाढीले जोखिम बढाएको थियो । वडा नम्बर ३ घट्टेखोलामा ७ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा छ । जुम्ली–प्रतिष्ठा–माछापुच्छ्रे जेभीले ठेक्का लिएको भवनको हालसम्म ३ करोड ९० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । भवनको मुख्य संरचनाको काम सकेर रङरोगन, घेराबार र चमेनागृह निर्माण भइरहेको छ ।
वडा नम्बर ७ ताकममा ४ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पाँच शय्या क्षमताको अस्पताल भवनको दोस्रो तलासम्म ढलान सकिएको छ । हालसम्म २ करोड ३४ लाख रुपैयाँ भुक्तानी भइसकेको यस भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभीले ठेक्का लिएको थियो ।
धवलागिरी गाउँपालिकाको गाउँसभाबाट चालु आवका लागि छनोट भई बजेट विनियोजन भएका एक सय पाँचमध्ये एक सय दुईवटा योजनाको सम्झौता भएको र उपभोक्ता समितिसँग सम्झौता भएको योजना वैशाख महिनाभित्र सम्पन्न हुने चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।
गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ७८ योजनाको सम्झौता गरिएको थियो ।
चालु आवमा पूर्वाधार योजनाका लागि करिब १५ करोड रुपैयाँ विनियोजन भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’