
रुकुम । आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै भेषभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो ।
परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन् । हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ । यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न भयो । साँख गाउँको बीचमा दह छ । यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ ।
यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बीचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष आलोपालो हुने गरेको ओलीले बताउनुभयो ।
किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र त्यही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या–कन्याबीच विवाह सम्पन्न गरेका थिए ।
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो ।
साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ । यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनु परेको छ, यो उहिलेकै चलन हो’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भन्नुभयो ।
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न शुरु गरिन्छ । माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आउनुभएको छ । हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताउनुभयो ।
हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै