
काठमाडौँ । ‘अलबिदा प्रिय मायाकुमारी, मृत्यु शाश्वत हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ’– एउटा भैंसीको मृत्युमा लेखिएका शोक शब्द हुन्, यी । मायाकुमारी नामको सो भैंसीको मृत्यु भएपछि विधिवत् रूपमा अन्त्येष्टि गरिएको छ । यसरी पशु खासगरी भैंसीलाई भावपूर्ण बिदाइ गरिएको यो विरलै घटना हो ।
त्यो भैंसी ललितपुरस्थित स्नेह केयर्स सेन्टरमा राखिएको थियो । उसको मृत्युपछि स्नेहा श्रेष्ठले लेखेकी छिन्– ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिंदा पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा सायदैले बयान गर्न सक्ला ’
यो भैंसीको कथा वास्तवमै हृदयविदारक छ । केही वर्षअघि उनलाई मासुको लागि बधशालामा पुर्याइएको थियो । बधशालामा उनको टाउकोमा घन प्रहार गरियो । त्यसको तोडले ऊ रन्थनिएर भाग्न थाल्यो । भाग्दै(भाग्दै एउटा विद्यालयभित्र पसेर लुक्यो।
भाग्ने क्रममा केही मान्छे र गाडीलाई समेत क्षति पुर्याएको थियो । त्यही कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन विभागका कर्मचारी भेला भए । उनीहरुले भैंसीलाई मार्ने तयारी थाले । यत्तिकैमा पशु अधिकारकर्मीहरु त्यहाँ पुगे । उनीहरूले सो भैंसीलाई मार्न होइन बचाउन जरूरी भएको भन्दै सेल्टरमा लिएर आए ।
भैंसीको हालत एकदमै दर्दनाक थियो । उसको टाउकोमा घनको डोब थियो । सिङ भाँचिएको थियो । सिङ र आँखाबाट रगत चुहिएको थियो । बधशालामा काट्न ल्याइएको उक्त भैंसी ब्याउने रहेछ । स्नेह केयर्समा राखेर उसलाई स्याहारसुसार गरेपछि केही महिनामा पाडोलाई जन्म दियो । त्यसलाई ‘मैचा’ नाम दिइयो । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैया भनेर सम्बोधन गरे जस्तै हो ।
भैंसीको दुई वटा थुनबाट मात्र दूध आउने रहेछ । ‘दूध कम्ती दिने भएकाले उसलाई मासुको लागि बेचिएको रहेछ’ स्नेह श्रेष्ठले भनिन्, ‘जबकि बधशालामा पुर्याउँदा उसको पेटमा दुई महिनाको गर्भ रहेछ ।’
सेल्टरमा ल्याएपछि उनीहरुले भैंसीको नाम मायाकुमारी राखे । सुरु सुरुमा भैंसी डराउने र आक्रमण गर्ने खालको थियो । ‘मान्छेलाई देख्नासाथ घन हान्न आएको होला भनेर डराएको हुनुपर्छ’ श्रेष्ठले भनिन्, ‘पछि विस्तारै हामीसँग हेलमेल हुँदै गयो र मान्छेलाई विश्वास गर्न थाल्यो ।’
यसपालिको गाईतिहारमा उसलाई पनि पूजा गरिएको थियो । भैंसी सुभानी थियो । कसैलाई हानि–नोक्सानी नगर्ने । तर, पहिले बधशालामा घनको प्रहारले गर्दा उसको स्वास्थ्यमा समस्या देखियो । विस्तारै हिंड्न र उठ्न नसक्ने भयो । ‘हामीले धेरै उपचार गर्यौं’ श्रेष्ठले भनिन्, ‘तर, बचाउन सकिएन ।’
एउटा अबोध र मायालु प्राणी गुमाउनुपर्दा निकै दुःख लागेको उनले बताइन् । श्रेष्ठले मायाकुमारीको नाममा शोक व्यक्त गर्दै लेखेकी छिन्– ‘पीडा र वेदना बोकेर भौंतारिरहेकी तिमीलाई भाग्यले भेट्यौं । तिम्रो दुःख–सुखको साथी बन्यौं । प्रिय मायाकुमारी, तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक हामीसँग कुनै विकल्प छैन ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईं हावा मान्छे : प्रचण्ड
- कुलमानको समर्थनमा आज फेरि माइतीघरमा प्रदर्शन
- ‘गणतन्त्र गिरिजा र मेरो प्रयासमा आयो, प्रचण्डजी त पछि मात्रै आउनुभएको हो’
- भीड नियन्त्रणमा राज्यको ज्यादती : अर्धस्वचालीत हतियारबाट अन्धाधुन्द गोली प्रहार
- सात समूहले लिए सगरमाथा आरोहण अनुमति
- बार एशोसिएशनको मतगणना भोलि हुने
- ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
- महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
- राम मन्दिरमा भक्तजनको घुइँचो
- अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते