+

विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै


पोखरा । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । 

पोखरा महानरपालिका–१७ दोबिल्लाबाट शुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि)  तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो ।

पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो । त्यो  सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालि भरतपुरबीच सम्झौता भइसकेको छ । सडक आगामी ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

विश्व बैंकको  ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ रुपैयाँ लागत सहयोगमा दुईवटा खण्डमा सडक निर्माण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत करिब १२ दशमलव ४४ किलोमिटर सुविधा सम्पन्न सडक निर्माण हुनेछ ।
 
सडकको पहिलो खण्डमा वडा नम्बर ३३ को कार्यालयबाट उपल्लो पुँडीटारसम्म ९ दशमलव ६ सय २७ किलोमिटर र दोस्रो खण्डमा पहिलो खण्डको अन्तिम विन्दुबाट तल्लो गगनगौडा (पृथ्वीराज मार्ग) सम्म २ दशमलव ८ सय १३ किलोमिटर सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक ‘अस्फाल्ट पिच’ हुनेछ । सडकको दायाँबायाँ ड्रेनसहितको दुई–दुई मिटरको ‘फुट ट्रयाक’ हुनेछ ।

सडक स्तरोन्नति सम्झौतापछि परियोजनाको ‘ज्वाइन्ट सर्भे’को काम सुरु भइसकेको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत थापाले भन्नभयो– ‘अबको केही दिनमा फिल्डमा काम सुरु हुनेछ । सडक स्तरोन्नति तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेका छौँ ।’

पोखरा महानगरमा विश्व बैंकको सहयोगमा यस अघि तालचोक बेगनास सडक र शिशुवा–सिसाघाट सडक निर्माण दुई परियोजना सञ्चालनमा छन् । दोबिल्लाबाट वडा कार्यालयसम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ । तीनकुनेबाट दोबिल्ला पुलसम्मको बाटो भने प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट