
झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उहाँलाई सताइरहन्छ ।
गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उहाँले सुनाउनुभयो । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा शुरु भएसँगै त्रसित उनीहरू कनकाईमा पानीको सतह बढेको नियालिरहन्छन् । राति निद्रामा रहेका बेला बस्तीमा बाढी पस्ने पीरले उनीहरू निश्चिन्त निदाउन सक्दैनन् । प्रत्येक वर्षको वर्षायाम यसरी नै बित्ने गरेको छ ।
बस्तीमा बाढी पस्न नदिन भरपर्दो बाँधको व्यवस्था नहुँदा वर्षेनी सास्ती झेल्नु परेको वडा नम्बर १ का सदस्य राजभक्त सुनुवारले बताउनुभयो । विसं २०७४ देखि नै जनप्रतिनिधि बन्नुभएका उहाँले नदीकटान र बाढी नियन्त्रण रोक्न प्रदेश र सङ्घीय सरकारको सहयोग नहुँदा समस्या भएको बताउनुभयो । उहाँले जनताको तटबन्धन कार्यक्रममार्फत बाँध बाँध्न पटकपटक माग गर्दा सुनुवाइ नभएको गुनासो गर्नुभयो । ‘हाम्रो पीडा कसले बुझ्ने ?, पालिकाको थोरै बजेटले बाँध बनाउन पुग्दैन’ उहाँले भन्नुभयो– ‘कुन बेला खोलामा बगेर मरिएला भन्ने त्रासमै बित्ने गरेको छ बर्खा ।’
होक्लाबारी बाढीजन्य विपद्को उच्च जोखिम भएको बस्ती हो । त्यस क्षेत्रका एक सय तीन परिवारलाई पूर्वमा कनकाई र पश्चिममा कमल बनियानी खोलाले घेरेको छ । यी दुईले एक सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएको गौरीगञ्जकै सिमलडाँगी, टप्पुबस्ती र कुञ्जीबारीमा हरेक वर्षायाममा आतङ्क सृजना गर्दै आएका छन् ।
बस्तीमा बाढी पस्नेबित्तिकै होक्लाबारीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इन्द्रेणी आधारभूत विद्यालयलाई आश्रयस्थल तोकिएको वडा सदस्य सुनुवारले बताउनुभयो । उक्त विद्यालय नै कनकाई र कमल बनियानीको बाढीको चपेटामा पर्नसक्ने उहाँले बताउनुभयो ।
बर्खाका बेला होक्लाबारी क्षेत्रमा आवागमनका लागि डुङ्गा नै चलाउनुपर्ने बाध्यता छ । पालिकाले सो क्षेत्रका बासिन्दाको सुविधाका लागि डुङ्गाको व्यवस्था गरिदिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीले गौरीगञ्जको वडा नम्बर १ र २ अन्य वडाको तुलनामा बढी विपद्को जोखिममा रहेको बताउनुभयो । उहाँले वर्षाका कारण हुने विपद्को पूर्वतयारी पूरा गरिसकेको जानकारी दिनुभयो । ‘आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सबै सावधानीको तयारी गरेका छौँ’ उहाँले भन्नुभयो– ‘राहत कोष र आवश्यक विपद् सामग्रीको तयारीसँगै प्रभावित क्षेत्रको अवलोकनसहित तथ्याङ्क सङ्कलन गरिसकेका छौँ ।’
अध्यक्ष राजवंशीले स्थानीय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । वडा नम्बर १ कै कुञ्जिबारी, टाप्पुबस्ती, बिर्खेबस्ती, माझीगाउँ पनि बाढीको उस्तै त्रासमा रहेको छ । जिल्लाका झापा, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी विस्थापित हुन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका १५ स्थानीय तहका ९ हजार ९ सय १९ परिवार बाढीको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु