
कञ्चनपुर । विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउन नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी ३ दिने तालिम सञ्चालन गरेको छ ।
शुक्लाफाँटा नगरपालिकामा आयोजित तालिममा ९ स्थानीय तहका विपद् व्यवस्थापन शाखाका कर्मचारी, नेपाली सेनाका जवान, नेपाल स्काउटका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका प्रतिनिधि, एनसिसी क्याडेट, सशस्त्र प्रहरीका जवान र नेपाल प्रहरीका विपद्सम्बन्धी कार्यमा संलग्न जवानको सहभागिता छ ।
तालिममा सहजीकरण श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेल, कालिरक्षा गण९ई० कैलालीका उपसेनानी विदेश बजगाईं, श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले गरिरहनुभएको छ ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले तालिमका सहभागीलाई भूकम्पीय अवस्थाका बारेमा जानकारी दिनुभएको छ । उहाँले भूकम्प आउनु पूर्वको तयारी, भूकम्पीय जोखिमका कारण, पारिवारिक तथा सामुदायिक योजना, अल्पकालीन वस्तुको व्यवस्था, प्राथमिक उपचारका सामग्रीको व्यवस्था, सुरक्षित स्थानको पहिचान गर्ने तरिका, घरभित्रको सुरक्षित स्थान, घर बाहिरको सुरक्षित स्थान, अल्पकालीन सञ्चार सम्बन्धको योजनाबारे जानकारी गराउनुभयो ।
पौडेलले भूकम्प आएको बेला अपनाउनुपर्ने सावधानी, भूकम्प गयरहेका बेला गर्न नहुने कार्य, भूकम्प आएपछिको द्रुत खोजी, हेलिङ खोज विधिभित्र ठाउँको लागि भौतिक खोजकोस्वरुप, बहुकोठा खोजविधि लगायत विविध विषयमा जानकारी गारइएको बताउनुभयो । घर निर्माण गर्दा मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भूकम्पको जोखिका हिसाबले नेपाल विश्वमा ११औँ स्थानमा रहेको चर्चा गर्दै सेनानी पौडेलले भूकम्प जहिले पनि आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले पूर्व तयारी गरी सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले प्राकृतिक, प्रविधिजन्य त्रुटी र मानवीय लापरबाहीका कारण आगलागी र वन डढेलो लाग्ने गरेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, आगलागी भइहाले नियन्त्रण गर्ने उपायबारे तालिमका सहभागीलाई जानकारी दिएको बताउनुभयो ।
कालिरक्षा गण (ई) बढैया कैलालीका उपसेनानी बजगाईंले सर्पदंश लागेमा के गर्ने र कसरी बच्ने भन्नेबारे जानकारी दिनुभयो । उहाँले सर्पको इतिहासकाबारेमा चर्चा गर्दै नेपालमा पाइने विषालु सर्पका प्रजाति, सर्प पाइने स्थान, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पदंशपश्चात् देखिने चिन्ह र लक्षण, उपचार विधिलगायतका बारेमा जानकारी दिनुभएको थियो ।
‘सर्पदंश लागेमा झारफुक गर्ने धामी, झाक्री र गुरुवा कहाँ लैजाने परिपाटी अझै विद्यमान छ, धेरै जनाको यसै कारणले ज्यान जाने गरेको छ’ बजगाईंले भन्नुभयो– ‘सर्पदंश लागेका व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा पु¥याउन सकिए ज्यान जोगाउन सकिन्छ ।’
तालिमका क्रममा उहाँले नेपालभर २३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका जानकारी दिनुभयो । ‘केन्द्रबाट हालसम्म १२ हजार बढी सर्पदंश लागेका व्यक्तिको उपचार गरेका छौँ’ उहाँले भन्नुभयो– ‘अहिलेको समय आहारा खोज्ने, प्रजनन गर्नेसँगै बढ्दो तापक्रमले सर्प दुलोबाट बाहिर निस्कने भएकाले सावधानी अपनाउनुपर्छ ।’ टिकटकमा भाइरल हुनका लागि सर्पलाई असावधानीपूर्वक समात्न खोज्दा डस्ने सम्भावना प्रवल हुने भएकाले त्यसो नगर्न उहाँले आग्रह गर्नुभयो ।
बुधबारदेखि शुरु भएको तालिम वैशाख ४ र ५ गतेसम्म सञ्चालन हुनेछ । आज बाढीजन्य प्रकोप, भान्सामा ग्यासबाट हुने आगलागी नियन्त्रण गर्ने तरिकाबारे सहभागीलाई जानकारी दिने नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमको अन्तिम दिन विपद्जन्य घटनाबारे सर्वसाधारणलाई जानकारी गराउन कृतिम नमूना अभ्यासको कार्य गरिने छ ।
तालिममा समन्वय तथा व्यवस्थापनको कार्य शुक्लाफाँटा नगरपालिका र श्रीदल गुल्म भगतपुर ब्यारेकले गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’