
सर्लाही । लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुशी दिन वैदेशिक रोजगारी जानुभयो । खुशी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य हुनुभयो ।
उहाँ तीन वर्षदेखि ह्वीलचियरको सहारामा हुनुहुन्छ । घरका एकमात्र सहारा उहाँको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । २०७७ साल ७ माघमा उहाँ वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया जानुभएको थियो । विसं २०७८ पुस २९ को राति कामबाट फर्किएपछि उहाँ साथीसँगै बजार जानुभएको थियो ।
बजारबाट फर्कने क्रममा उहाँले चलाएको गाडी दुर्घटनामा परेपछि उहाँको जीवनले नसोचेको मोड लियो । नेपालमा हुँदा पनि सवारीचालकको काम गर्नुभएका उहाँले विभिन्न निर्माण कम्पनीका टिपर, स्कुल बस चलाउनुभएको थियो । त्यसबाट घरपरिवारको गुजारा चलाउन समस्या भएपछि परिवारको सल्लाहमा उहाँ साउदी पुग्नुभएको थियो ।
‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’ उहाँले भन्नुभयो– ‘तर दुर्घटनापछि कम्पनीले पनि लापरवाही गरेका कारण मेरो यो अवस्था भयो ।’ राति १ बजे दुर्घटनामा पर्नुभएका उहाँलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । छ घण्टापछि मात्र होस आयो । बिहान अस्पतालको बेडमा थिएँ, उहाँले भन्नुभयो– ‘शरीर अररो परेको थियो । हातले पानीको गिलास समेत नसमाएपछि एक जना नेपाली नर्सले पानी खुवाइदिनुभयो ।’
उहाँको गर्दनमा शल्यक्रिया गरेर स्टिल राखिएको छ । उहाँलाई शुरुमा दुर्घटनामा परेर शरीरमा समस्या भयो, पछि ठिक हुन्छ भन्ने लागेको थियो । तर पछि चिकित्सकले गर्दनको हड्डी भाँचिएको र एउटा नसामा चोट लागेकाले शरीर पहिलाजस्तो नहुन सक्छ भनेपछि छाँगाबाट खसेजस्तै भएको उहाँले बताउनुभयो । ‘दुई वर्षकी छोरी छाडेर परिवारको खुसी कमाउन गएको थिएँ” अब बाँकी जीवन अरुको सहारामा गुजार्नुपर्ने भएर आएँ’ उहाँले भन्नुभयो ।
सुरुमा त अब बाँकी जीवन के हुने रु भन्ने चिन्ताले धेरै सतायो । धेरै रात भोक न निद्रा भएर बिताए । विदेशमा हुँदा सारा एक्लोझै भयो । घर आएपछि श्रीमती र छोरीको अनुहारले निकै समय लखेटिरह्यो । अहिले आफूलाई सम्हाल्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । विगतका दिन सम्झँदा उहाँका गला घरिघरि अवरुद्ध हुन खोज्दै थिए । अझै पनि शरीरको अवस्थाअनुसारको कर्म गरेर बाँकी जीवन पनि परिवारको सहारा बन्ने उहाँको ठूलो धोको छ ।
सुरुमा कम्पनीले उपचारमा केही चासो देखाएजसो गरे पनि पछि वास्ता गर्न छाडेको उहाँको भनाइ छ । ‘नौ महिनासम्म कम्पनीले बेवारिस अवस्थामा अस्पतालमा छाड्यो, शरीर चल्दैन थियो । अरुले ओल्टाइपल्टाइ गर्नुपर्ने अवस्था थियो । नर्सहरू दिनमा एक वा दुईपटकमात्र आउने गर्थे । औषधि दिएर जान्थे । खाना ल्याएर राखिदिन्थे । हातसमेत नचलेर खान सक्दिनँ थिए । कोही आउने आशमा बस्नुपर्यो’ उहाँले भन्नुभयो ।
कम्पनीले वास्ता गर्न छाडेपछि, औषधि नगर्ने भए मलाई घर पठाइदेउ भनेर कम्पनीमा भने, तर कम्पनीले वास्ता गरेन । हारगुहार गरेपछि युकेमा रहनुभएका भान्जाको प्रयासमा दूतावासका कर्मचारीले कम्पनीलाई ताकेता गरे । त्यसपछि कम्पनीले अस्पतालबाट निकालेर १५ दिनपछि नेपाल पठाइदियो । सुरुमा आफूले साउदीस्थित नेपाली दूतावासमा धेरैपटक अनुनयविनय गर्दा पनि वास्ता नगरेको उहाँको दुखेसो छ ।
उहाँलाई समयमै अस्पतालबाट उद्धार गरेको भए शरीर केही भाग चल्थ्यो कि भन्ने चिन्ताले अहिले पनि सताइरहन्छ । बिरानो देशमा अस्पतालमा काटेको नौ महिना एक युगजस्तो लागेको उहाँको अनुभव छ । नेपाल आएपछि परिवारले उहाँलाई सिधँै अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ पु्र्याउनुभयो । त्यहाँ तीन महिना बसेर उपचार गर्दा पनि कुनै सुधार नभएपछि घर आएको उहाँको भनाइ छ । अस्पतालमा गर्ने गरेका केही कसरत उहाँ घरमा पनि नियमित गरिरहनुभएको छ ।
आफू आधा शरीर नचल्ने भएर अरुको सहारामा उठ्नबस्न पर्ने अवस्थामा पुगेपछि एउटा छोरीको पढाई र परिवारको गुजारामा पनि समस्या भएको उहाँले दुखेसो पोख्नुभयो । ‘सम्पत्तिका नाममा पुख्र्यौली छ कट्ठा खेत र साढे आठ धुर घडेरी पाएको थिएँ’ उहाँले भन्नुभयो– ‘बिमाबाट आएको पैसाबाट बाँस बस्ने समस्या भएपछि एकतले काठको घर बनाएँ । खेतको उत्पादनले मुस्किलले आधा वर्ष खान पुग्छ । छोरीको पठनपाठन, केही उपचार खर्च कसरी जोहो गर्नु ?’
श्रीमती एक्लैले गरेको कामबाट परिवारलाई हातमुख जोर्न सधैँ समस्या भएको भन्दै उहाँले आफूले सकेको काम गरेर परिवारलाई सघाउने चाहना रहेको बताउनुभयो । ‘शारीरिक रूपमा अशक्त व्यक्तिहरूले क्षमताअनुसार काम गरेर परिवारलाई सहयोग गरेको देखेसुनेको छु’ उहाँले भन्नुभयो– ‘मलाई पनि केही गर्ने चाहना छ । आफूसँग लगानी छैन । कसैले कतैबाट सहयोग गरिदिए समाजको उदाहरणीय पात्र बन्ने थिएँ ।’
पौडेलले वैदेशिक रोजगार विभागबाट पाउने छात्रवृत्ति पनि नपाएको गुनासो गर्नुभयो । वैदेशिक रोजगारमा अङ्गभङ्ग भएका वा ज्यान गुमाएकाका बालबालिकाले उच्च शिक्षासम्म पठनपाठनका लागि छात्रवृत्ति पाउने व्यवस्था भए पनि आफूले नपाएको उहाँले बताउनुभयो । ‘छात्रवृत्ति पाइन्छ भन्ने थाहा पाएपछि कागजात लिएर गएको थिएँ’ उहाँले भन्नुभयो– ‘तपाईँको बिमावापतको रकम पूरा भएको छैन, पाउनुहुन्न भनेपछि फर्किएँ । त्यत्ति पाएको भए पनि छोरीको पठनपाठनका लागि थपथाप हुने थियो ।’
पौडेलको आठ वर्षकी छोरी गाउँ नजिकैको एक विद्यालयमा बाल कक्षामा अध्ययन गर्नुहुन्छ भने श्रीमतीले आफू र छोरीको स्याहारपछि बाँकी समय पशुवस्तु र खेतीपाती गरेर दुई छाकको जोहो गरिरहनुभएको उहाँले बताउनुभयो । कक्षा ९ सम्म अध्ययन गर्नुभएकी सविना पौडेलले श्रीमान् शारीरिक रूपमा अशक्त भए पनि आफूले अवसर पाए छोरी र श्रीमान्का लागि सहारा बनेर गुजार गर्ने वातावरण बन्ने बताउनुभयो ।
स्थानीय तहसँग आवश्यक सहयोगका लागि पटकपटक ताकेता गरेको उहाँले बताउनुभयो । मैले कार्यालय सहयोगीको कामका लागि फारम पनि भरे । खै के भयो काम भएन । कुनै व्यावसायिक तालिम र लगानी पाए काम गर्ने थिएँ । यसरी विभिन्न दुर्घटनामा परेर समस्यामा परेकालाई सहज जीवन गुजाराका लागि स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
वडाका अध्यक्ष दुर्गाबहादुर आलेले वडामा त्यस्तो कुनै बजेट नहुने बताउनुभयो । यस्ता विपन्न नागरिकका लागि नगरपालिकाले नै आयआर्जनका कार्यक्रममा समेट्ने गरेको छ । ‘वडामा त्यस्तो योजना तथा बजेट हुँदैन’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा नगरले नै व्यवस्थापन गर्ने गरेको छ । मैले पनि उहाँहरूको समस्याका लागि पहल गरिरहेको छु । हेरौँ केही गर्न सकिन्छ कि ? प्रधानमन्त्री रोजगारी तथा अन्य सहयोगको लागि पनि सोचिरहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गयो
- रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुन्न आदेश
- ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
- नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
- जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षाको लागि अभियान थाल्ने
- भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली
- गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाद्वारा प्रदर्शन
- ‘देश र जनताको सेवामा रातदिन खटिँदा पनि मलाई बर्खास्त गरियो’
- हावाको गतिले घटायो वायु प्रदूषण
- बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न