+

धरहराबाट एक सातामा १५ लाख राजस्व

काठमाडौँ । ऐतिहासिक सम्पदा धरहराबाट एक सातामा  १४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

२०७२ सालको भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहरा मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको हो । धरहराबाट १६ गते आइतबारसम्म १४ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको हो ।   

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब १ हजार २ सयले धरहरा चढ्ने गरेको बताउनुभयो । ‘९ गतेदेखि हालसम्म ८ हजार ३ सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’ उहाँले भन्नुभयो– ‘बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन ।’ 

बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक १ हजार ५ सयले अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताउनुभयो । धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँशुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । 

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई यही मङ्सिर ९ देखि  धरहरा सञ्चालन भएको हो । त्यसअघि  मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो । शहरी विकास मन्त्रालयको प्रस्तावअनुसार यस्तो निर्णय भएको हो ।     

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा  २० र दुई पाङ्ग्रेलाई  १०  रुपैयाँ तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने  ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ । 

व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै